
काठमाडौं । विद्यार्थी राजनीतिमा पहिलोपटक उल्लेखनीय परिवर्तन देखिएको छ। एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वमा डाक्टर, इन्जिनियर र वकिलको प्रभावशाली उपस्थिति देखिएको छ। क्लिनिकल साइकोलोजीमा एमबीबीएस गरेका डा. सुजन कडरिया ३२ वर्षको उमेरमै अनेरास्ववियुका अध्यक्ष बनेका छन्। उनी कोभिडकालमा गाउँगाउँ पुगेर स्वास्थ्य सेवा दिएका एक सामाजिक अभियन्ता पनि हुन्।
इन्जिनियर विकास श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन् भने उपमहासचिवमा एमएस्सीमा उत्कृष्ट कमल जोशी निर्वाचित भएका छन्। नर्स प्रेमिका शाही भने त्यही पदमा पराजित भइन्। चार सचिवमध्ये एक रचना सापकोटा सिभिल इन्जिनियर हुन् भने अर्का गोपाल नेपाल अधिवक्ता हुन्। फार्मासिस्ट आकाश घर्ती र अन्य सचिव डा. आनन्द कुमार सिंह भने यसपटक हार बेहोर्नुपर्यो।
४९ सदस्यीय केन्द्रीय सचिवालयमा पाँच इन्जिनियरसहित विभिन्न पेशाका सदस्यहरू छानिएका छन्। गण्डकी, सुदूरपश्चिम, बागमती र विश्वविद्यालय राष्ट्रिय कमिटीबाट चुनिएका नेताहरूमा इन्जिनियर किशोर सुवेदी, रोशन साउद, विशाल आचार्य, नवीन्द्र चालिसेलगायत छन्।
त्यस्तै, डाक्टर पुष्पराज भाम, एमएस्सीका रुद्रहरी पोखरेल, अधिवक्ता समीर रिजाल, डाक्टर प्रविण भुसाल र अधिवक्ता स्मृति अधिकारीले पनि पद जितेका छन्। अनेरास्ववियुमा यो पटक युवा पेशेवरहरुको उल्लेखनीय प्रवेश देखिएको छ, जुन विद्यार्थी राजनीतिमा नयाँ ढोका खोल्ने संकेत हो।