राजनीति

वाईसीएलमा पदाधिकारी चयनसगैँ नेतृत्व चयनमा विधि र विश्वासकाे प्रचण्ड र शर्माबिच टकराव

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलमा ७५ सदस्यीय ‘जम्बो’ पदाधिकारी चयनसँगै संगठनभित्र तीव्र मतभेद सतहमा आएको छ। अध्यक्ष पुष्प ओली नेतृत्वको टोलीलाई समर्थन र आलोचना गर्दै माओवादीका वरिष्ठ नेताहरू आमनेसामने आइपुगेका छन्।

पार्टी विधानले ३५ पदाधिकारीको सीमा तोके पनि ७५ पदाधिकारीको घोषणा भएपछि यो निर्णयमाथि गम्भीर प्रश्न उठेको छ। उपमहासचिव जनार्दन शर्मा र उनका समर्थकहरूले यसलाई विधि विपरीत र जबर्जस्ती कदम भन्दै आलोचना गरेका छन्।

नेता अनिल शर्माले पार्टी नेतृत्वले युवा संगठनलाई गुलाम जस्तो बनाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा कडा टिप्पणी गरे। उनले लेखे, “वाईसीएल गेटपाले संगठन भएको छ। युवा संगठनले स्वतन्त्र सोच होइन, निर्देशन पालना गर्नुपर्ने स्थितिमा पुगेको छ।”

तर, वाईसीएल अध्यक्ष पुष्प ओलीले यो निर्णय हलमा सहमति र आवश्यकताका आधारमा भएको दाबी गर्दै विरोधलाई नियोजित हल्ला   करार दिए। उनले वाईसीएललाई पार्टीको बलियो ‘विंग’ भनी व्याख्या गर्दै, युवालाई सक्रिय बनाउने योजना अघि सारे।

यसबीचमा नेता शर्माको फेसबुक पोस्टपछि वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले तीव्र प्रतिकृया फर्काए। उनले शर्माकै नातेदार नेता जनार्दन शर्माले चुनाव नगरी सहमतिबाट अघि बढ्न सुझाएको भन्दै व्यंग्यात्मक शैलीमा जवाफ दिएका छन्। “पानीमरुवा चाल चल्न छाडेर लड्न आउनुस्,” भन्दै सापकोटाले फेसबुकमै चुनौती दिएका छन्।

यो विवादले माओवादी नेतृत्वको आन्तरिक गहिरो ध्रुवीकरण, विधि र नेतृत्व चयनको पारदर्शिताप्रति गम्भीर प्रश्न खडा गरेको छ। खासगरी, युवामाझ नयाँ जोश ल्याउने भनिएको वाईसीएल नै आन्तरिक द्वन्द्वको घेरामा पर्दा, संगठनको साख र क्रियाशीलता खल्बलिन थालेको संकेत देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *