
काठमाडौं । किराँत खम्बु साम्पाङ राईहरूको हराइरहेको राजवंशको खोजू शीर्षकको पुस्तक सार्वजनिक भएपछि देशमा धर्म, जातीयता र इतिहाससम्बन्धी गम्भीर बहस र आन्दोलन चर्किएको छ। पास्टर तुलसी साम्पाङ राईद्वारा लिखित उक्त पुस्तकमा किरात समुदायलाई इस्रायली मूलको भन्दै इसाईकरण गर्न खोजिएको आरोप लागेपछि विभिन्न किरात संघसंस्थाहरूले विरोध जनाउँदै लेखकको कडा आलोचना गरेका छन्।
पुस्तकको सार्वजनिक प्रतिक्रिया यति तीव्र भयो कि माओवादी केन्द्रका पूर्वमन्त्री सुदन किरातीसमेत विवादमा तानिए। उनले उक्त पुस्तक हातमा लिएर खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि विरोधमा उनीविरुद्ध पुत्ला दहनसमेत गरियो। किरात अधिकारकर्मीहरूले उनलाई पुस्तकको समर्थन गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
विवाद चुलिएपछि सुदन किरातीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिंदै भने, “किराती इतिहासको स्थापित मान्यता नै मेरो मान्यता हो। म धर्मनिरपेक्षताको दृढ पक्षधर हुँ र सबै धर्म र संस्कृतिप्रति सम्मान राख्छु।” तर पास्टर राईले पुस्तकमा उल्टै किराती समुदाय गणतन्त्रबाट सन्तुष्ट नहुने दाबी गर्दै सुदन किरातीको विचारविपरीत निष्कर्ष लेखेको पाइएको छ।
पास्टर राईले पुस्तकमा किरात समुदाय इस्रायली अब्राहमिक मूलका हुन् भन्ने दाबी गर्दै बाइबलका सन्दर्भ प्रस्तुत गरेका छन्। उनले लेखेका छन् कि किर्यत अर्बाू बाट आएका किरातहरूले काठमाडौं उपत्यकामा शासन स्थापनासम्म गरेका थिए। त्यसै आधारमा उनले किरात समुदायलाई अब्राहमका सन्तान भएको निष्कर्ष निकालेका छन्।
यतिमात्र होइन, उनले पृथ्वीनारायण शाहलाई ‘हत्यारा’ करार गर्दै, शाहको शासनलाई ‘तानाशाही र हिन्दू जातीय आधिपत्य’ भनेर चित्रित गरेका छन्। उनले लेखेका छन्, “पृथ्वीनारायण शाह हिटलरभन्दा कम थिएनन्, उनका कारण किरातहरू नरसंहारको सिकार भए।”
यसबारेमा सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिँदै पास्टर राईले आफ्नो लेखाइ अनुसन्धानमा आधारित भएको दाबी गरे। “१५–२० वर्ष अध्ययनपछि मैले किरातहरूको जरा बाइबलमै भेटें। बाइबललाई संसारले अन्तिम सत्य ठान्ने भएकाले त्यसकै सन्दर्भ प्रयोग गरें,” उनले भने।
पूर्वमन्त्री सुदन किरातीसँग खिचिएको तस्बिरबारे पनि उनले सफाइ दिंदै, “उहाँ किरात हुनुहुन्छ, त्यसैले उहाँलाई उपहारस्वरूप पुस्तक दिइएको हो। फोटो त्यही बेला खिचिएको हो।” किरात राई यायोख्खाले उक्त पुस्तकप्रति कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “धार्मिक र साम्प्रदायिक खलल पुर्याउने, किरात जातिको इतिहासलाई इसाईकरण गर्न खोज्ने यो पुस्तक र लेखक दुवैको हामी घोर निन्दा गर्छौं।”
संगठनले पुस्तकका ‘गलत’ अंशहरू तत्काल सच्याउन माग गर्दै कानुनी कारबाहीको चेतावनीसमेत दिएको छ। साथै, पुस्तकमा उल्लेखित ‘गणतन्त्र विरोधी’ अभिव्यक्ति तत्काल हटाउन आग्रह गरिएको छ।
किरात समुदायको मौलिक इतिहास र पहिचानमा धार्मिक रूपान्तरणको प्रयास भएको आरोपसँगै यस विषयले अब वैचारिक र राजनीतिक बहसलाई समेत गहिरो बनाइरहेको छ। संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षताको मर्ममाथि प्रत्यक्ष चोट पुगेको भन्दै धेरै पक्ष आन्दोलित छन्। धार्मिक स्वतन्त्रता र इतिहासको निष्पक्ष व्याख्या बीच सन्तुलन खोज्ने बेला आएको संकेत यो विवादले दिएको छ।