काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन शहीद राधेश्याम जोन्छेको जीवन र योगदानबाट प्रेरणा लिनुपर्ने बताएका छन्।
आइतबार भक्तपुरमा आयोजित जोन्छेको १३औँ पुण्यतिथिको स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले उहाँको योगदानको उचित कदर गर्दै राष्ट्रियस्तरमा प्रचार–प्रसार आवश्यक रहेको बताए। उनले भने, “जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई अझ बलियो बनाउनु जरुरी छ। उहाँका सम्बन्धमा अझै पुस्तक लेख्न, प्रचार गर्न र उहाँका विचार युवा पुस्तासमक्ष पुर्याउन आवश्यक छ।”
सभापति देउवाले आफू जोन्छेलाई मन्त्री बनाउने चाहनामा रहे पनि त्यो सम्भव नभएकोप्रति दुःख व्यक्त गर्दै भने, “म उहाँलाई मन्त्री बनाउने चाहनामा थिएँ। उहाँले राम्रो काम गर्नुभएको थियो। उहाँप्रति सम्मान मात्रै होइन, उहाँको उदार सोच र योगदानबाट कांग्रेसले प्रेरणा लिनुपर्छ।”
उनले शहीद जोन्छेको योगदान जनमानसमा पुर्याउन थप अनुसन्धान, लेखन र अभिलेखीकरण गर्न आवश्यक रहेको पनि बताए।




