काठमाडौँ । नेपाली कांग्रेसले आज संसद संचालन हुने बताएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजदेखि संसद जबर्जस्ती भएपनि संचालन हुने दाबि गरेका छन् ।
संघीय संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले धेरै दिन भएकोले यसलाई लम्ब्याएर लैजान नसकिने भन्दै आज संसद चल्ने दाबी गरेका हुन् ।
उनले भने- संसद चल्छ, संसदका क्रियाकलापहरु आजदेखि संसद कार्यसूचीमा प्रवेश गर्छ । धेरै दिन भयो, यसलाई लम्बाएर लैजान सकिदैन । आम जनतामा पनि यसले राम्रो संदेश दिएको छैन । एकदमै निहु खोज्ने हिसाबले विपक्षी दलबाट कुराहरु आएको छ । यसलाई सधै यहि ढंगले अनिर्णयको बन्दी बनाउन सकिदैन ।’
भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् । विपक्षीहरुले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएपनि त्यसपछि जेठ २० गते देखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेर भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गर्न जोड दिएको छ । छानबिन समिति बनाईने प्रतिबद्धतामात्रै आएपनि सदनको अवरोध खुलाउन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार रहेको बुझिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन दुवै मागमा अडिक रहेको छ ।




