राजनीति

गणतन्त्रको रक्षाका लागि देशव्यापी जागरण सभा गर्ने कांग्रेसको तयारी

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र मूल्य संरक्षणका लागि नेपाली कांग्रेसले राजधानी काठमाडौंसहित देशभर वृहत जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ। सोमबार बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले ‘संविधानको आत्मा’ गणतन्त्रविरुद्ध भइरहेका आवाजहरूको प्रतिउत्तरस्वरूप जनस्तरमा जागरण अभियान थाल्ने निर्णय गरेको हो।

अहिले देशमा बढ्दो राजावादी लहर, नारायणहिटी फर्काउने हल्ला, र लोकतन्त्रमा ‘विकासको गतिरोध’ भन्ने दाबीलाई खण्डन गर्न कांग्रेसले उठाएको कदमलाई विश्लेषकहरूले राजनीतिक प्रतिक्रिया र आगामी भविष्यको मार्गचित्र भएको बताएका छन् । विशेषगरी काठमाडौं उपत्यकामा राजसंस्थाको समर्थनमा संविधानविरोधी नाराबाजी लोकतान्त्रिक तथा गणतान्त्रिक दलहरुमाथि लगाइएका विभिन्न आरोप र प्रत्यारोपलाई चिर्दै यर्थाथ कुरा बाहिर ल्याउनेमा कांग्रेस विश्वस्त छ ।

कांग्रेस स्रोतका अनुसार, जागरणसभा कुनै दलको विरोधमा होइन, संविधानको पक्षमा जनचेतनाको पुनर्निर्माण हो। गणतन्त्र स्थापना भएयता नेपालले थुप्रै ऐतिहासिक परिवर्तनको यात्रा तय गरेको छ। संविधान २०७२ को कार्यान्वयनमार्फत संघीय संरचना निर्माण, जसले प्रदेश र स्थानीय तहमा सरकार पुर्‍यायो। महिला, दलित, जनजाति र पिछडिएको वर्गको राजनीतिक प्रतिनिधित्व अभूतपूर्व रूपमा बढेको छ , त्यतिमात्र होइन् धर्मनिरपेक्षता, समानता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी, जुन कुनै पनि राजशाहीकालीन शासन व्यवस्थामा कल्पनै गर्न सकिने अवस्था थिएन। स्थानीय सरकारको प्रभावशाली विस्तार, जसले सेवाप्रवाह र नागरिक सरोकारलाई गाउँघरमै पुर्‍याएको छ।

तर यी सबै उपलब्धिहरूकाबीच केही चुनौतीहरू छन्—नीति कार्यान्वयनमा ढिलाइ, भ्रष्टाचार, बेरोजगारी र सार्वजनिक असन्तोष। यिनै कमजोरीलाई राजावादी आन्दोलनले आंशिक सत्यसँग जोडेर ‘पुरानोपनको मोह’ निर्माण गरेको कांग्रेसको ठहर छ । नेपाली कांग्रेसले सबै सत्तारुढ दललाई कोर्स करेक्सन गरेर अघि बढन् बारम्बार सुझाव दिदैँ आएको छ । कांग्रेसले आगामी दिनमा सरकार गठनका क्रममा कांग्रेस र एमालेबिच भएका साँत बुँदे सहमतिलाई कार्यान्वय गरेर अघि बढ्ने बताएको छ ।

कांग्रेसले अबको जागरण अभियानलाई युवाले नेतृत्व गर्ने, शान्तिपूर्ण ढंगले सन्देश प्रवाह गर्ने र संविधानका मूल मान्यता जनस्तरसम्म पु–याउने माध्यमको रूपमा प्रयोग गर्ने बताएको छ। विशेषतः संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई जनजीवनमा अझ प्रस्ट रूपमा उतार्ने लक्ष्य लिएको छ ।

सभापति देउवाले बैठकमा भने, “२०६२र६३ को जनआन्दोलनको सहनशीलता नै थियो जसले पूर्वराजालाई देशमै बस्न दियो। आज यदि त्यो सहिष्णुता नदेखाइएको भए, उनी बाहिरिन बाध्य हुने थिए।” उनका अनुसार, अब गणतन्त्रमाथि प्रश्न उठाउनेहरूलाई इतिहास र उपलब्धिको तथ्यगत जवाफ दिनुपर्छ।

राजनीतिक विरोध र आन्दोलन लोकतन्त्रको मूल हिस्सा हो। तर गणतन्त्रको वैधानिक संरचनामाथि चुनौती खडा गर्ने, असत्य सूचना फैलाउने र इतिहासको तोडमोड गर्ने प्रवृत्तिलाई तथ्य, संवाद र चेतनाले मात्र रोक्न सकिन्छ। कांग्रेसको जागरण सभा यही उद्देश्यले अघि बढेको छ।

जागरणसभा केवल भिड तान्ने रणनीति होइन, संविधान र गणतन्त्रलाई गहिरो जनविश्वासमा रूपान्तरण गर्ने अभियान हुनुपर्नेछ। लोकतन्त्रले संवादको बाटो रोज्छ, भिडन्तको होइन। आत्मालोचनासहित कांग्रेसले अबका दिनहरूमा यो अभियानलाई जनमत निर्माणको सशक्त प्लेटफर्म बनाउन सक्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *