राजनीति

जनआन्दोलन केही दिन थपिएको भए ज्ञानेन्द्रले देश छोड्ने अवस्था आउन सक्थ्यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा देखाइएको सहनशीलता र सदाशयताकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहले देशमै बस्न पाएको टिप्पणी गरेका छन्। सोमबार बूढानीलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले जनआन्दोलनको उत्कर्ष सम्झिँदै भने, “यदि जनआन्दोलन केही दिन अझै चलेको भए, पूर्व राजा ज्ञानेन्द्र देश छोडेर भाग्न बाध्य हुन्थे । तर, हामीले सहनशीलता देखायौं।”

कांग्रेसका एक नेताका अनुसार देउवाले पूर्वराजा फेरि नारायणहिटी फर्कन खोजिरहेको चर्चा गर्दै त्यसको कुनै सम्भावना नभएको उल्लेख गरे। “संविधानले नचिनेको व्यवस्थातर्फ फर्कने सपना देख्नु घातक हुन्छ,” उनले देउवाको भनाइ उद्धृत गर्दै भने। देउवाले राजतन्त्र पुनर्स्थापना वा गणतन्त्रको अवमूल्यन गर्ने प्रयासहरू संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। “राजावादीलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार छ, तर संविधान र व्यवस्थामाथि प्रहार सह्य छैन,” उनले भने।

बैठकले गणतन्त्रको सुदृढीकरण र जागरणका लागि राजधानी काठमाडौंसहित प्रमुख शहरहरूमा जागरणसभा सञ्चालन गर्ने निर्णय पनि गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। पहिलो चरणमा केही दिनभित्रै काठमाडौंमा ठूलो सभा आयोजना गरिनेछ। कांग्रेसले विगतका अनुभवलाई स्मरण गर्दै अब कुनै पनि स्वरूपको राजसंस्थाको समर्थन नगर्ने स्पष्ट नीति दोहोर्‍याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *