काठमाडौं । नेपालका प्रमुख दलका शीर्ष नेताहरूले हालै सार्वजनिक रूपमा संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै देशको शान्ति, स्थायित्व र विकासका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। संसदका ठूला दल नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रममा फरक –फरक समयमा बोल्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रको सम्मान गर्दै निरंकुश राजतन्त्र फिर्ता सम्भव नभएको स्पष्ट पारे। उनले राजतन्त्र फर्काउने कुरा “डाइनोसर” को कल्पनाजस्तै हास्यास्पद भएको टिप्पणी गर्दै अब देश सुशासन र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असन्तुष्टि गणतन्त्र होइन, केही नेताहरूको भ्रष्टाचार र जनविरोधी कार्यशैलीप्रति रहेको बताए। उनले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आएपछि राजावादीहरूका प्रयास स्वतः निष्फल हुने दाबी गरे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राजतन्त्र पुनर्स्थापनाको कुनै विकल्प नभएको बताएपछि राजनीतिक वृतमा चासो र बहसको विषय बनेका छन्। तर उनको यो धारणा पार्टीभित्रै असहमति र बहसको विषय बन्ने सम्भावना देखिएको छ।
सहरी विकासमन्त्री प्रकाशमान सिंहले ध्यान–योगमार्फत व्यक्तिगत शान्ति कायम गरेर राष्ट्र र विश्वमा स्थायित्व ल्याउन सकिने विश्वास व्यक्त गरे। उनले सामाजिक र मानसिक शान्ति नै दीगो विकासको आधार भएको बताए। राजनीतिक रूपमा फरक विचार भए पनि नेताहरूको साझा सन्देश भने गणतन्त्रको रक्षा, संविधानको पालना, र सामाजिक स्थायित्वका लागि सबै लोकतान्त्रिक शक्तिहरूको सहकार्य आवश्यक रहेको देखिएको छ। यी अभिव्यक्तिहरूले आगामी दिनमा राजनीतिक समीकरणमा फेरबदलको संकेत पनि दिन सक्छन्।




