काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझैसम्म सुरु हुन सकेको छैन। बैठकमा ढिलाइ हुनुको कारण सत्तापक्ष र प्रतिपक्ष दुबैले आ–आफ्नो छुट्टाछुट्टै छलफलमा व्यस्त हुनु हो।
विपक्षी दलहरू संसद् भवन नयाँ बानेश्वरमा र सत्तारुढ दलहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन्। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरूसँग छलफल गरेर बैठक अघि बढाउने तयारीमा सभामुख देवराज घिमिरे रहेका छन्।
‘भिजिट भिसा सेटिङ’ प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिनको माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि नै संसद अवरुद्ध गरिरहेका छन्। मंगलबारको बैठक विपक्षी दलहरूको नाराबाजीका कारण आधा घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि सूचना टाँस गर्दै बैठक बुधबार बिहान ११ बजेसम्मका लागि सारिएको थियो।
प्रतिनिधिसभा सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ। छलफलमा गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए।
छलफलमा आजको बैठकमा गृहमन्त्री लेखकले उठिएका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्। उनका अनुसार संसद सञ्चालन नियमावलीअनुसार बैठक अघि बढ्नेछ।
सभामुख देवराज घिमिरेले दुवै पक्षसँगको छलफलपछि बैठक सुरु गर्ने तयारी गरिरहेको सचिवालयले जानकारी दिएको छ। सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बैठक सञ्चालन हुने सम्भावना रहेको जनाइएको छ।
संसद सञ्चालनमा राजनीतिक सहमतिका प्रयास जारी छन्। गृहमन्त्री लेखकको भनाइपछि विपक्षीको अवरोध फुकुवा हुने र प्रतिनिधिसभा नियमित सञ्चालनमा आउने अपेक्षा गरिएको छ। अब संसदले अवरोधको राजनीति पार गर्दै, कार्यसञ्चालनमा फर्कन सक्नेछ कि भन्ने प्रश्न उठिरहेको छ।




