काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघको पोखरामा जारी १० औं महाधिवेशनमा नेतृत्व चयनभन्दा बढी ‘सर्वसम्मतिको बहानामा’ शक्तिप्रदर्शन र भित्री खेलको दृश्य देखिन थालेको छ। वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच अध्यक्ष पदको प्रतिस्पर्धा छ तर पार्टी संयन्त्रले थकाउने, गलाउने, फकाउने शैली अपनाएको आरोप खुलेरै आउन थालेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा क्षितिज थेवेलाई अध्यक्ष बनाउने योजना चलिरहेको चर्चा छ। तर, सुमन पुरी खुलेर मैदानमा छन्। उनी भन्छन्, म अध्यक्षको उम्मेदवार हुँ, मैदान छाड्दिन। उनले मिडियामा आफूलाई इतर को रूपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै, यो भ्रम फैलाउने काम भएको बताए।
सहमतिको नाममा विधानमै फेरबदल गरिएको देखिन्छ। दुई उपाध्यक्षमा एक महिला अनिवार्य भन्ने व्यवस्था हटाएर, पदाधिकारी तहमा मात्रै महिला समावेश गरिँदैछ—सुमन पुरी र महाराज गुरुङलाई मिलाउने नाममा। प्रश्न उठेको छ, के यो समावेशितामाथिको प्रहार होइन?
सुमन पुरी प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै मत मागिरहेका छन्। अर्कातर्फ थेवे पार्टीका शक्तिशाली नेताहरूसँग बन्द कोठाको छलफलमा छन्—भानुभक्त ढकाल, महेश बस्नेतलगायतसँग। लोकतान्त्रिक प्रक्रियाभन्दा बढी सेटिङ र व्यवस्थापनमा जोड दिइएको आशंका गरिँदैछ।
१२ बजे मनोनयन पत्र बुझाउने भनिए पनि अहिलेसम्म मतदाता नामावली नै सार्वजनिक भएको छैन। यो ढिलाइले प्रक्रियाप्रति शंका बढाएको छ। महाधिवेशन केवल नेतृत्व चयनको हो कि पार्टी संरचना र आन्तरिक लोकतन्त्रमाथिको परीक्षा? ‘सर्वसम्मति’ को नाममा यदि एउटा धारालाई दबाउने काम भयो भने त्यसले संगठनभित्र असन्तोषको बीउ रोप्नेछ।




