राजनीति

गभर्नर नियुक्ति विवादले मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा देखिएको रस्साकस्सीका कारण सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बैठक स्थगित गरिएको पुष्टि गरेका छन्।

सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति गर्न मन्त्रिपरिषद् बैठकमा निर्णय गर्ने अनुमान गरिएको थियो। तर, आन्तरिक छलफल र सहमति अभावका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसबारे छलफल हुने तय भएको थियो। गभर्नर नियुक्तिमा देखिएको राजनीतिक असहमति र शक्ति संघर्षकै कारण अन्तिम समयमा निर्णयमा पुग्न नसकिएको उच्च स्रोतको दाबी छ।

नयाँ गभर्नरको नियुक्ति विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच असहमति देखिएको छ। देउवा पक्षले बैंकको नेतृत्व आफ्नो निकट व्यक्तिलाई दिनुपर्ने अडान राखेका छन् भने प्रधानमन्त्री ओलीले योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने भन्दै एमालेभित्रकै मान्छेलालाई अगाडी बढाइरहेका छन् । यसैबीच, गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदा राष्ट्र बैंकका नीतिगत निर्णयमा अन्योलता सिर्जना भएको विज्ञहरूले बताइरहेका छन्।

स्थगित भएको मन्त्रिपरिषद् बैठकको नयाँ मिति तय भइसकेको छैन। सत्ता पक्षले सहमति जुटाउन आन्तरिक संवादलाई तीव्रता दिएको बताइएको छ। गभर्नर नियुक्तिका लागि अर्को बैठक छिट्टै बोलाइने अपेक्षा गरिएको छ।

गभर्नरको नाम टुंग्याउन सरकारभित्रको रस्साकस्सी अन्त्य हुने हो कि अन्योलता बढ्ने हो ? यो प्रश्नले अबको राजनीतिक परिस्थितिलाई थप जटिल मोडमा लैजाने अनुमान समेत गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *