काठमाडौं । जनमत पार्टीभित्र अहिले ललितपुरको एक घरको स्वामित्वलाई लिएर ठूलो विवाद चर्किएको छ। पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र अध्यक्ष डा. सीके राउतबीच यो घर व्यक्तिगत हो कि पार्टीको — भन्ने विषयमा तीव्र मतभेद देखिएको हो।
पूर्व कोषाध्यक्ष यादवको भनाइमा उनले उक्त घर आफ्नै लगानीमा पत्नी ललिता कुमारी यादवको नाममा खरिद गरेका हुन्। तर, पार्टी अध्यक्ष राउत भने यो घर पार्टीकै लागि किनिएको दाबी गर्छन्। विवाद थप गहिरिँदा पार्टी प्रवक्ता डा। शरद सिंह यादवले सुरेन्द्र यादवमाथि पार्टीको नाममा उठाइएको रकम हिनामिना गरी व्यक्तिगत सम्पत्ति बनाएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्। त्यसकै आधारमा यादवलाई पक्राउ गरिएको हो।
शुरुवातमा घर पार्टीकै नाममा किन्ने योजना रहेपनि, अध्यक्ष राउतले अर्काको नाममा राख्न दबाव दिएको र यादवले त्यसको विरोध गरेपछि विवाद सुरु भएको स्रोतहरू बताउँछन्।
राउत अहिले पनि सोही घरमा परिवारसहित बसिरहेका छन्। यादव पक्षको दाबी अनुसार राउत २०८० फागुन १ गतेदेखि मासिक २५ हजार रुपैयाँमा भाडामा बसेका हुन्। तर राउत पक्षले त्यो सम्झौता केवल कानुनी प्रक्रियाबाट बच्न बनाइएको कागज मात्र भएको बताउँदै आएको छ।
सम्झौतापत्र २०८१ फागुन १ देखि लागू हुने देखिएको छ, जसले थप विवाद निम्त्याएको छ। पार्टीले दिएको विवरण अनुसार झण्डै डेढ़ करोड रुपैयाँ यादवले आफ्नो खातामा जम्मा गराई घर खरिद गरेका थिए, जसमा धेरैजसो रकम पार्टीका नेताहरूले ऋण लिएर उपलब्ध गराएका थिए।
पार्टीभित्रको यो विवादले आन्तरिक पारदर्शिता, सम्पत्ति व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। अहिले यो प्रकरण प्रहरी अनुसन्धानमा छ, र परिणामले पार्टीको भविष्यमा महत्वपूर्ण असर पार्ने देखिन्छ।









