काठमाडौं । संसदको दोस्रो ठूलो दल एमाले एकल सरकारको अभ्यासमा लागेको छ । आफूभन्दा १० सिट ठूलो कांग्रेसको टेकोमा अडेका प्रधानमन्त्री केपी ओली मात्र होइन, एमालेका तेस्रो लेयरका नेताहरूसमेत अहिले कांग्रेस र तिनका नेताको मानमर्दन गर्न थालेका छन् ।
कतिसम्म भने कांग्रेस र सो पार्टीका नेताहरूबारे एमाले बैठकमै आलोचना हुन थालेको छ । स्वयं प्रधानमन्त्री ओली नै यस्तो गतिविधिमा केन्द्रित भएका छन् । केही दिनअघि सम्पन्न एमाले सचिवालय बैठकमा ओलीले कांग्रेसका पदाधिकारी तहका नेताहरूको सत्तोसराप गरेका थिए । उनले शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मालगायतको नामै लिई आफ्नो सरकारको आलोचना गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । सार्वजनिक कार्यक्रममा पनि ओलीले कांग्रेस नभए पनि सरकार चल्छ झैं बोल्न थालेका छन् ।
सरकारमै रहेर ०८४ को आमनिर्वाचनको पूर्वतयारीमा रहेको एमालेले चुनावमा प्रमुख प्रतिस्पर्धा कांग्रेससँगै हुने निष्कर्ष निकालेर विस्तारै एकल सरकारको अभ्यासमा लागेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । एमाले नेता सूर्य थापा, महेश बस्नेत, विष्णु रिजाल कांग्रेसमाथि तल्लोस्तरमा ओर्लेर गालीगलौज गर्नेमा पर्छन् । कांग्रेस नेता शेखर, गगन, विश्वप्रकाशहरूले कहीँकतै सरकारको कार्यशैलीको आलोचना गरे र खबरदारी गर्नेवित्तिकै उनीहरू कांग्रेसमाथि खनिहाल्छन् । ती सबै ओलीले संरक्षण गर्दै आएका नेता हुन् ।
सबै ठूला राजनीतिक नियुक्ति आफूले मात्रै लिने रणनीतिमा लागेका ओलीले कांग्रेसको भागमा परेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गिजोल्दै गिजोल्दै लगेका छन् । यसरी नै गिजोलेर अन्तिममा आफ्नै पार्टी क्याडर निलम ढुंगानालाई गभर्नर बनाएर पहिलो महिला गभर्नर बनाएको जस लिने ओलीको चाहना छ । त्यही चाहना पूरा नहुने देखेपछि सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाइएको छ । प्रधानमन्त्री ओलीले एनआरएनएमा एमालेको वर्चस्व कायमै राख्न बद्री केसी पक्षलाई आधिकारिकता दिएका छन् ।
जबकि अदालतको आदेशअनुसार एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएर महेश श्रेष्ठ अध्यक्ष भइसकेका छन् । तर महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पक्षको आरोप लगाउँदै एमालेले एनआरएनए विवाद झन् उचाल्दै गएको छ । कांग्रेसका मन्त्रीहरूले गरेका निर्णयमा बाधक बन्ने र अवरोधको काम स्वयं ओलीले गर्न थालेको गुनासो उनीहरुले गर्न थालेका छन् ।




