कर्णाली प्रदेश

जुम्लाको गुठीचौरमा तीन महिनादेखि विद्युत् सेवा बन्द, ४८० घरधुरी अन्धकारमा

जुम्ला। यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी विगत तीन महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्। यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँका बासिन्दा प्रभावित भएका स्थानीय परेक ऐडीले जानकारी दिए।

गत फागुन महिनादेखि ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। तर, मर्मतका लागि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ। विद्युत् अभावका कारण बालबालिकाको पठनपाठन, मोबाइल चार्ज गर्ने समस्या, कुटानी–पिसानी मिल बन्द हुँदा र स्थानीय फर्निचर उद्योगलगायत व्यवसायमा गम्भीर असर परेको स्थानीय गणेश ऐडीले बताए।

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताएका छन्। यद्यपि, गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले तीन लाख रुपैयाँ विनियोजन गरेको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने जानकारी दिएका छन्। अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम अघि बढाइने उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *