काठमाडौँ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भारत र पाकिस्तानबीचको तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै सीमा नाका र विमानस्थलमा निगरानी बढाउने निर्णय गरेको छ।
बैठकमा दुई छिमेकी मुलुकबीच बढ्दो द्वन्द्व र त्यसले नेपालमा पार्न सक्ने प्रभाव, आन्तरिक सुरक्षा चुनौती तथा भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
प्रवक्ता तिवारीका अनुसार मुलुकमा अवाञ्छित गतिविधि हुन नदिन नेपाल-भारत सीमा र विमानस्थल लगायत संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने र सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निर्णय बैठकले गरेको छ। सीमा नाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा सुनिश्चित गर्ने र सम्भावित चुनौतीको सामना गर्ने विषयमा पनि बैठकमा गहन छलफल भएको उनले बताए।
बैठकमा आन्तरिक सुरक्षालाई थप सुदृढ बनाउने तयारी, सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान लगायतका विषयमा पनि छलफल भएको थियो।




