काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेको नेपाल भ्रमणले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनको उच्चस्तरीय राजनीतिक भेटघाटको शृंखलाले विभिन्न अड्कलबाजीलाई जन्म दिएको छ।
बुधबार काठमाडौं ओर्लिएदेखि नै चौथाईवालेको व्यस्तताले नेपालको राजनीतिमा भारतीय चासोलाई उजागर गरेको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेताहरु महामन्त्री गगन थापा,डा. शेखर कोइराला,उदय शमशेर राणा, डा. प्रकाशशरण महत,माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका छन्।
चौथाईवालेको यो तीव्र राजनीतिक भेटघाटले भाजपा नेपालका प्रमुख राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध कायम राख्न इच्छुक रहेको देखाउँछ। विशेष गरी, नेपालको अस्थिर राजनीतिक परिदृश्यमा भाजपाले आफ्नो प्रभावलाई बलियो बनाउन खोजेको विश्लेषण गरिएको छ।
चौथाईवालेको यो भ्रमणले नेपालको राजनीतिमा भारतीय चासोलाई पुनः एकपटक उजागर गरेको छ। आगामी दिनहरूमा यसको राजनीतिक प्रभाव कस्तो रहनेछ, त्यो भने हेर्न बाँकी छ।




