काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सरकारमा सहभागी दलहरुका शिर्ष नेताहरु सहभागी छन् ।
यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।
यसका साथै बैठकमा समसामयिक राजनीतिक अवस्था, जारी शिक्षक आन्दोलन, र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका नीतिगत विषयहरूमा गहन छलफल भइरहेको छ ।
गठबन्धनमा कांग्रेस, एमाले, लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायत दलहरू सहभागी छन् ।बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।
यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।




