राजनीति

सीप र क्षमता भए जुनसुकै डाँडाबाट पनि महिनाको दुई–तीन लाख कमाउन सकिन्छ : महामन्त्री थापा

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए कीर्तिपुर मात्र नभई जुनसुकै डाँडामा बसेर महिनाको दुई–तीन लाख कमाउन सकिने आफ्नो पुरानो अभिव्यक्तिलाई पुनः दोहोर्‍याएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले कीर्तिपुरको डाँडाबारे आफ्नो भाइरल भएको भनाइलाई स्मरण गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईं सबैलाई त्यही प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भनेर मैले भनें। कतिलाई रमाइलो कुरा भयो। तर त्यो ड्रिम हो। सम्भव छ। एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ। अब हामी नलेज इकोनोमीमा छिरेका छौँ। अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ।’

उनले थपे, ‘सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै होइन। त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप हामीले विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नु पर्छ।’ महामन्त्री थापाले यस पटक पार्टीका विभागले राम्रो काम गरिरहेको भन्दै खुसी व्यक्त गरेका छन्। ‘यस पटक हामीले विभाग बनायौँ, विभागको टिमले बडो मेहनतका साथ काम भइरहेको छ। हामीले बनाउन खोजेको यही हो,’ महामन्त्री थापाले भने।

कांग्रेसको कार्यालय आइडियाको केन्द्र हुनुपर्नेमा उनले जोड दिए। ‘नेपाली कांग्रेसको यो कार्यालय आइडियाको केन्द्र हुनुपर्छ,’ उनले भने, ‘विमर्शको केन्द्र हुनुपर्छ। यो विचारको, मन्थनको, चिन्तनको केन्द्र हुनुपर्छ।’ पार्टी कार्यालयबाट हुने व्यवस्थापकीय कामको महत्व रहेकामा पनि उनले समर्थन जनाए। ‘ठलो संस्था हो नियमित काम हुन्छन् नै। तर कांग्रेस आइडियामाथि विचार मन्थन पनि गर्छ। किन यो गर्छ भने यो जीवन्त पार्टी हो, किन पार्टी जीवन्त राख्ने भन्दा पार्टीले समाजका समस्याको समाधान खोज्छ, हल गर्छ,’ महामन्त्री थापाले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *