
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सर्वोच्च अदालतले ‘डिल’ गरिरहेको गम्भीर आरोप लगाएका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको दाबी गरे। आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दासमेत नियुक्तिको परीक्षण नभएको उनको भनाइ थियो।
महामन्त्री थापाले अदालतले ‘डिल’ गरेपछि त्यसको विश्वसनीयतामाथि प्रश्न उठाए। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने विषयमा राजनीतिक ‘डिल’ गर्ने गरेको टिप्पणी गरे। लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेका संस्थाहरूमाथि जनताको विश्वास घट्दै गएको भन्दै थापाले अदालत, अख्तियार र संसदको प्रभावकारिताप्रति निराशा उत्पन्न भइरहेको उल्लेख गरे। अख्तियार, अदालत, संसद र राजनीतिक दलहरूप्रति जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको प्रमुख चुनौती रहेको उनको भनाइ थियो।
थापाले नेपाली कांग्रेसले चाहेमा सरकारबाट बाहिरिन सक्ने चेतावनी दिए। लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिका लागि कसैसँग पनि सम्झौता नगरिने उनले स्पष्ट पारे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन लागेको चर्चालाई उल्लेख गर्दै थापाले कांग्रेसबाट राष्ट्रपति बनेका व्यक्तिलाई पार्टीमा नफर्काइने बताए। सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमालाई कायम राख्नुपर्ने उनको भनाइ थियो।