
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले महाकाली नदी किनारमा भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणप्रति गम्भीर आपत्ति जनाएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै खनालले दार्चुलाको खलङगास्थित महाकाली किनारमा भारतले करिब ४० रोपनी नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको दाबी गरेका छन्। २०७० को बाढीले नदीको धार सरेपछि नेपाली भूभाग नदीपारी पुगेको अवस्थामा भारतले त्यसलाई कब्जा गर्दै तटबन्ध बनाइरहेको उनले बताए।
“स्थानीय प्रशासनले रोकेको, जनप्रतिनिधिले आवाज उठाएको, जनता सडकमा उत्रिरहेका छन्—तर भारतीय पक्षले कुनै वास्ता गरेको छैन,” खनालले भने। उनले नेपाल सरकारको निष्क्रियतालाई समेत आलोचना गर्दै तत्काल केन्द्रीय टोली खटाएर वैज्ञानिक नापजाँच गरिनु पर्ने माग राखेका छन्।
खनालले भारतसँग तत्काल कूटनीतिक वार्ता थाल्न र तटबन्ध निर्माण रोक्न दबाब दिन सरकारलाई सुझाव दिएका छन्। “यदि यस्तो अतिक्रमण रोकिएन भने देशभर विरोधको आँधी चल्न सक्छ,” उनको चेतावनी छ। उनको भनाइमा, सीमावर्ती क्षेत्रका जनता अहिले नै प्रतिरोधमा उत्रिन थालेका छन्, र सरकारले ढिलाइ गरे परिस्थिति गम्भीर बन्नेछ।