अर्थ

सरकार आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न पूर्णरूपमा तयार छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न पूर्णरूपमा तयार रहेको बताएका छन्। उनले निजी क्षेत्रका व्यवसायीले तयार पारेको आर्थिक मार्गचित्रलाई सरकार नीतिगत तहमा आत्मसात गर्न इच्छुक रहेको प्रष्ट पारे।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले हालको सरकार निजी क्षेत्रमैत्री भएको दाबी गर्दै, व्यवसायमैत्री वातावरण बनाउन आवश्यक नीतिगत सुधारमा सरकार सक्रिय रहेको बताए। “पुँजी बजारमा रहेका अवरोध हटाउन र आयात–निर्यातमा लाग्ने शुल्कको पुनरावलोकन गर्न सरकार प्रतिबद्ध छ,” उनले भने। व्यवसायीहरूका सुझावअनुसार तेस्रो देशमा निर्यात गर्दा लाग्ने शुल्कसमेत पुनः मूल्याङ्कन गरिने उनको भनाइ थियो।

भण्डारीले नेपालको आर्थिक संकट समाधानमा स्थानीय रैथाने उत्पादनको ब्राण्डिङ र निर्यातको भूमिका उल्लेखनीय हुने बताए। “जुम्लाको सिमी, दार्चुलाको खण्डेश्वरीमा पाइने अर्गानिक उत्पादनजस्ता बालीहरू हाम्रो पहिचान हुन्,” उनले भने, “यी उत्पादनलाई ब्राण्ड बनाएर विश्व बजारमा लैजान सकिने सम्भावना हामीले चिन्नु आवश्यक छ।”

उनले कृषि उत्पादनको प्याकेजिङ, लेबलिङ र मूल्य अभिवृद्धि गरेर निर्यातयोग्य बनाउने खालको रणनीति आवश्यक रहेको धारणा राखे। मन्त्री भण्डारीका अनुसार सरकार बजेट तथा नीतिगत कार्ययोजनाको तयारीमा रहेको यस घडीमा निजी क्षेत्रको सक्रिय सहभागिता स्वागतयोग्य छ। “तपाईंहरूले तयार पारेको दृष्टिकोण नै सरकारको योजना बन्न सक्छ,” मन्त्री भण्डारीले भने, “आर्थिक शिथिलता हटाउन हामी सहकार्यमा छौं, र तपाईंहरूको मागअनुसार सहुलियतको खाका बनाउन सरकार तत्पर छ।” कार्यक्रममा सहभागी व्यवसायी नेताहरूले पनि सरकारसँग सहकार्य गर्दै दीर्घकालीन र दिगो आर्थिक विकासका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *