काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छन्। औपचारिक रूपमा स्वास्थ्य समस्या कारण देखाइए पनि उनको पदत्याग पछाडि राजनीतिक तथा प्रशासनिक दबाब मुख्य कारण रहेको बुझिएको छ।
राजीनामा स्वीकृत हुने प्रक्रिया अझै बाँकी रहँदा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकमा प्रधानमन्त्री ओलीले भट्टराईको राजीनामाबारे जानकारी गराउने सम्भावना छ।
मन्त्री भट्टराईले आफ्नो राजीनामापत्रमा स्वास्थ्य समस्या उल्लेख गरेकी छन्। उनी यसअघि माघ महिनामा अस्वस्थ भएकी थिइन्, तर पछि स्वास्थ्य लाभ पाएको भनिएको थियो। तर मन्त्रालय स्रोतहरूका अनुसार, भट्टराईले भोग्दै आएको दबाब र पछिल्लो समय चर्किएको शिक्षक आन्दोलनले उनी मानसिक तनावमा रहेको जनाइएको छ। एक उच्च अधिकारीका अनुसार, मन्त्रीज्यू निरन्तर दबाबमा हुनुहुन्थ्यो, आन्दोलन समाधानको बाटो खोज्दा पनि सहज भएन।
शिक्षक आन्दोलनको समाधानका लागि मन्त्री भट्टराईले ७ बुँदे प्रस्ताव समेत तयार पारेकी थिइन्। प्रस्तावमा ईसीडी शिक्षकका लागि १७,३०० तलब निर्धारण, सामाजिक सुरक्षा कोषका लागि नयाँ प्याकेज, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रमको स्पष्टता, र शिक्षाको उपचारमा छुटजस्ता विषय समावेश थिए।
मन्त्री भट्टराईले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरे पनि, अन्ततः तीव्र दबाब र परिस्थिति व्यवस्थापन गर्न नसक्दा राजीनामाको विकल्प रोजेकी हुन्। निकट स्रोतहरूका अनुसार, उनले केही समयदेखि काम गर्न अप्ठ्यारो भइरहेको भन्दै गुनासो गर्दै आएकी थिइन्। सार्वजनिक रूपमा भने उनले अन्य कुनै कारण उल्लेख गरेकी छैनन्। अब मन्त्री भट्टराईको उत्तराधिकारी को हुने भन्नेमा राजनीतिक सरगर्मी बढेको छ। प्रधानमन्त्री ओलीले नयाँ मन्त्री चयन प्रक्रिया चाँडै अघि बढाउने अनुमान गरिएको छ।




