
काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको रिहाइको मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा हेर्न नमिल्ने सूचीमा परेको छ।
न्यायाधीश हरि फुयाँलको इजलासमा परेको सो निवेदन आजका लागि तोकिएको पेशीमा प्रवेश पाउन नसकी हेर्न नमिल्ने सूचीमा राखिएको हो। अदालतले यसअघि मंगलबार (बैशाख १०) का लागि पेशी तय गरेको थियो।
लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। उनले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्। हाल लामिछाने भैरहवा कारागारमा थुनामा छन्। अब सर्वोच्चको अर्को इजलासमा उक्त निवेदन पेश हुने वा हुने नहुने भन्ने टुंगो आउन बाँकी छ।