प्रविधि

सामाजिक सञ्जाल समयमै दर्ता नगरे प्रतिबन्ध लाग्छ : संचारमन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालन भइरहेका फेसबुक लगायतका सामाजिक सञ्जालले सरकारले तोकेको समयभित्र दर्ता नगरे स्वतः प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन्।

सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले, “नेपालमा चल्ने सबै सामाजिक सञ्जालले हाम्रो कानुन मान्नुपर्छ। अब म्याद सकिन थोरै दिन बाँकी छ। दर्ता नभएमा प्रतिबन्ध लगाइनेछ,” भने।

सरकारले सामाजिक सञ्जाल नियमनका लागि एक महिनाको थप म्याद दिएको भए पनि अहिलेसम्म ठूला प्लेटफर्महरूले दर्ता प्रक्रिया सुरु नगरेको मन्त्री गुरुङले बताए। उनले यो कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्न नभई, नियमनका लागि ल्याइएको स्पष्ट गरे।

त्यसै अवसरमा मन्त्री गुरुङले चैत्र १५ मा काठमाडौंमा भएको राजावादी आन्दोलनलाई “प्रतिगामी र संविधानविरोधी” भन्दै त्यसमा संलग्नहरूमाथि कारबाही हुने बताए। “राजतन्त्र फर्कने कुनै गुञ्जायस छैन,” उनले भने।

उनले प्रविधिको गलत प्रयोग गरेर मुलुक, जनतामाथि आघात पुर्याउने प्रयास भइरहेको भन्दै सरकार गम्भीर भएर नियन्त्रणमा जुटेको उल्लेख गरे।

कार्यक्रममा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा.हरिकला अधिकारीलाई, सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई र स्व. उमासिंह पत्रकारिता पुरस्कार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *