देश

न्यौपाने बिना प्रजातान्त्रिक आन्दोलन अधूरो रहन्थ्यो : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गोरखाका नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिनुभएको योगदान अनुकरणीय रहेको बताए।

“प्रजातन्त्र पुनःस्थापना र लोकतन्त्रको सबलीकरणका लागि नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रिय रूपले सहभागी हुनुभएका न्यौपानेले पटकपटक जेल जीवन बिताए,” सभापति देउवाले भने, “पञ्चायतको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिए।”

सभापति देउवाले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुनःस्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहेर सक्रियता देखाएको स्मरण गरे।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्राको सुरुआत न्यौपानेबाटै भएको स्मरण गर्दै सिद्धान्तप्रतिको निष्ठा, नैतिकता र सदाचार उहाँबाट अनुशरण गर्न लायक रहेको बताए।

कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेको निष्ठा, त्याग र सिद्धान्तप्रतिको प्रतिबद्धता सदैव प्रशंसनीय रहेको बताए। नेत्री एवं राष्ट्रियसभा सदस्य कमला पन्तले पछिल्लो समय पार्टीमा निष्ठा कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्दै देश र जनताप्रतिको सेवाभाव र विश्वास न्यौपानेबाट सिक्नुपर्ने बताइन्।

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एवं राष्ट्रियसभा सदस्य किरणबाबु पुनले जटिल राजनीतिक परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर न्यौपानेले अघि बढाउनुभएको राजनीतिक यात्रा अविस्मरणीय रहेको बताए। नेता डा. मिनेन्द्र रिजालले पञ्चायतको कठिन र जटिल अवस्थामा जनतासँग जोडिएर न्यौपानेले प्रजातन्त्र र लोकतन्त्रका निम्ति आफूलाई समर्पित गरेको बताए।

कार्यक्रममा कांग्रेस नेता चीनकाजी श्रेष्ठ र नन्दलाल न्यौपानेलगायतले दिवङ्गत न्यौपानेको राजनीतिक जीवनको चर्चा गर्दै उहाँको विचार र भावना अनुशरण गर्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने बताए।

सो अवसरमा सभापति देउवाले ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गरेका थिए। उक्त ग्रन्थमा विसं २०१४ देखि राजनीतिक यात्रा आरम्भ गरेका न्यौपानेसम्बन्धी ४७ वटा संस्मरणात्मक लेखरचना समावेश छन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *