राजनीति

सरकार ढल्ने कुरा परिस्थितिजन्य विश्लेषण : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको वर्तमान सरकार ढल्नसक्ने संकेत दिएका छन्। कांग्रेस चोकमा जागरण अभियानका क्रममा पुगेका प्रचण्डले सरकार परिवर्तनको कुरा ठोस राजनीतिक चाल होइन, तर परिस्थितिजन्य विश्लेषण भएको बताए।

उनका अनुसार, सरकारप्रतिको जनआक्रोश, सत्तारूढ गठबन्धनभित्रकै असन्तुष्टि र ठूला दलहरूका नेताहरूको टिप्पणीले सरकार संकटमा परेको छ भन्ने बुझाइलाई बल दिएको हो। “कांग्रेस–एमालेभित्रको असन्तुष्टि र जनतामाझको विरोध हेर्दा सरकार लामो समय टिक्न गाह्रो देखिन्छ,” उनले भने।

प्रचण्डले आफैं सरकार बनाउन चाहेको वा प्रस्ताव पाएको कुरा अस्वीकार गर्दै, अहिलेको ध्यान जनतामाझ अभियान र सम्बन्ध विस्तारमा रहेको बताए। उनले सरकारको गतिविधिबाट देशलाई हानी पुगिरहेको बताउँदै, सरकार परिवर्तनको मुद्दा जनहितसँग जोडिएको स्पष्ट गरे।

एमालेले भने प्रचण्डको भनाइलाई ‘सत्ताबाट बाहिरिएको कुण्ठा’ भनेर टिप्पणी गरेपछि प्रचण्डले ती प्रतिक्रिया ‘आतंकित मानसिकताको अभिव्यक्ति’ भएको बताए। शेरबहादुर देउवा प्रधानमन्त्री हुने भनेर बोलेको मात्र होइन, त्यो संविधानको भावना पनि हो, उनले जोड दिए।

उनले गणतन्त्रको पक्षमा जनमत बढ्दो रहेको, तर राजतन्त्र पक्षधरहरूको गतिविधिलाई गम्भीरतापूर्वक लिएर प्रतिवाद गर्नुपर्ने समय आएको बताए। ज्ञानेन्द्र शाहको गतिविधिलाई प्रजातन्त्रको नाममा पाखण्ड भनेका उनले, जनताको भरोसा फेरि माओवादीमा फर्किरहेको दाबी पनि गरे।

जागरण अभियानमा जनताको उत्साह र सहभागिताले भविष्यप्रति आशावादी बनाएको बताउँदै, प्रचण्डले पार्टीभित्र एकताको सवालमा पनि काम भइरहेको जानकारी दिए। “पूर्वमाओवादी घटकसँग संवाद चलिरहेको छ,” उनले भने, “समाजवादी मोर्चा अहिलेको साझा मञ्च हो, तर पार्टी एकताको सम्भावना खोलिएको छ।”

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *