राजनीति

शिक्षा रूपान्तरणका लागि समर्पित : विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ का लागि प्रारम्भ भएको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउने आह्वान गरेका छन्। उनले गुणस्तरीय र समावेशी शिक्षाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने बाटोको जग हाल्ने वेला आएको उल्लेख गरे।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भर्ना अभियानको सफलता अभिभावक, शिक्षक र समुदायको साझा जिम्मेवारी भएको बताए। उनले भने, “शिक्षा नै गरिबी न्यूनीकरणको मूल आधार हो। बालबालिकालाई अब विद्यालयबाहिर राख्न मिल्दैन।

प्रधानमन्त्री ओलीले विद्यालय शिक्षाबाट प्राविधिकदेखि उच्च शिक्षासम्मको सिकाइलाई समावेशी र व्यवहारिक बनाउनुपर्नेमा जोड दिँदै सन् २०३० सम्मका दिगो विकास लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका निर्णायक हुने बताए।

उनका अनुसार शिक्षा प्रणालीले विद्यार्थीमा स्थानीय ज्ञान, सीप, प्रविधि र नैतिक मूल्यलाई जोड्न सक्नुपर्छ। ूज्ञान व्यवहारमा लागू हुनुपर्छ। हामी केवल शिक्षित भएर पुग्दैन, विनयशील पनि हुनुपर्छ, उनले उल्लेख गरे। प्रधानमन्त्रीले अझै पनि करिब २० प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेको तथ्य उल्लेख गर्दै भने, “गरिबी अन्त्य नगरी समृद्धिको सपना साकार हुँदैन। त्यसैले शिक्षालाई पहिलो सर्तको रूपमा लिएर अघि बढ्नुपर्छ।”

उनले आधारभूत तहको भर्ना दरमा सुधार भए पनि विद्यार्थी टिकाउपनमा चुनौती रहेको स्वीकार गर्दै, त्यसका लागि शिक्षा प्रणालीमा सुधार र आधुनिकीकरण अपरिहार्य रहेको बताए। प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक–२०८१ पारित गर्ने प्रक्रियामा सरकार दृढ रहेको बताए। उनले यो विधेयकलाई व्यापक छलफलका आधारमा अगाडि बढाउने र आवश्यक संशोधन गरेर पारित गर्ने प्रतिबद्धता जनाए। तीन तहका सरकारबीच समन्वय र सहकार्य गरी शिक्षा क्षेत्रमा लगानीमा साझेदारी बढाउनुपर्छ,ू ओलीको भनाइ थियो।

शिक्षा प्रणाली सुधार, विद्यार्थीको पहुँच विस्तार र गुणस्तरीय शिक्षाका लागि विद्यालय शिक्षा विधेयकको बहसले गति लिएको छ। प्रधानमन्त्री ओलीको तर्फबाट आएको स्पष्ट प्रतिबद्धताले आगामी दिनमा नीति, कार्यक्रम र बजेटमा शिक्षालाई केन्द्रीय प्राथमिकता दिइने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *