पाटन (ललितपुर)। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम राख्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका छन्।
पार्टीको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले सामाजिक सद्भाव अक्षुण्ण राख्न र पार्टीलाई बलियो बनाउन मुस्लिम समुदायले पुर्याएको योगदानको सराहना गरे।
उनले भने, “मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ। मुलुकले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको छ र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको छ।”
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई आत्मसात गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मूल्य मान्यतालाई सम्मान गर्दै हार्दिकता प्रदर्शन गरिरहेको बताए।
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा गरेको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताए।
अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति र समुदायबीचको एकताबाटै देशको विकास सम्भव रहेको धारणा राखे।
त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको विशिष्ट पहिचान भएको बताए।




