
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका महामन्त्री धवलशम्शेर राणा र उपाध्यक्ष रविन्द्र मिश्रसहितका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विनासर्त सरकारसँग रिहाको माग गर्दै नाटकीय शैलीको रचना गर्ने बताएको छ ।
राजावादी हिंशात्मक आन्दोलनका क्रममा संलग्न भएका राप्रपाका नेताहरूलाई समयमै नछोडे, देशभर सामूहिक गिरफ्तारीको नाटक मञ्चन हुने राप्रपाले जनाएको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै, २२ गतेदेखि सडकमा प्रतिकारको नयाँ अध्याय सुरु हुने बताएको छ।
राजावादी हिंशात्मक आन्दोलनबाट पक्राउ परेकाहरुलाई विनासर्त रिहा गराउन बाध्य बनाउन राप्रपाले सरकारलाई रचनात्मक तरिकाले रमित देखाउने योजना बनाएको छ । राजावादीको मन्त्र जप गरेर पक्राउ परेका आफ्ना नेताहरुलाई रिहा गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने अहिले राप्रपाको आन्तरिक रणनीति रहेको छ ।
कार्यवाहक संयोजक डा. जगमान गुरुङले बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा नाटकीय शैलीमै चेतावनी दिँदै भने, “अब हामी गिरफ्तारीको माग गर्दै आफैं अगाडि बढ्छौं, शान्तिपूर्ण तर प्रभावशाली ‘भद्र अवज्ञा’ शैलीमा”
आन्दोलन कमजोर भएको हल्ला चलाइए पनि अब आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढ्नेछ। हामी तयारीमा छौं, अब एक्सन सुरु हुन्छ, उनले भने । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राज्यमाथि प्रहार गर्दै, तीनकुनेको सभालाई हिंसात्मक बनाउने र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने षड्यन्त्र भएको आरोप लगाए। “संविधान फेरियो भने, आगो बल्छ देशमा” उनको चेतावनी थियो।
राजावादीहरूले सरकारलाई पटक–पटक दिएको चेतावनीलाई अब नाटक होइन, निष्कर्ष ल्याउने अभिनयको रूपमा हेर्नुपर्ने समय आएको उनले जिकिर गरे । राप्रपाले सरकारलाई समयमै संवाद र समाधानको बाटो रोज्ने की ‘नाटकीय गिरफ्तारी’को दृश्य हेर्ने भन्दै प्रश्न गरेको छ ।
सरकारले भने सो हिंशात्मक घटनामा संलग्नमाथि निश्पक्ष अनुसन्धान गरी दोषीमाथी कारबाही गर्ने प्रतिवद्धता जनाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको धम्कीले कामेर सरकारले दोषीलाई विनासर्त नछोड्ने घोषणा समेत गरिसकेका छन् ।
यस्तै गृहमन्त्री रमेश लेखकले समेत हिंशात्मक आन्दोलनमा संलग्न भएकाहरुमाथि कुनै आग्रह तथा पूर्वाग्रहका आधारमा नछोड्ने भन्दै गत चैत्र १५ गतेको घटनाका क्रममा भएको क्षेतिको जिम्मा राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाह हुनुपर्ने निष्कर्ष निकालेका छन् । तर राप्रपाले आफूहरुले सो घटनाको क्षेतिपूर्ती नबेहोर्ने भन्दै सरकारलाई पेल्न खोजेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो ।
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरेर आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेकाहरूमाथि थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५३ जना थुनामा छन् ।
तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए । सो राजावादीको आन्दोलनका नेतृत्व गरेका नवराज सुवेदी अहिले घरमैँ नजरबन्दमा छन् । पूर्वपञ्च समेत रहेका सुवेदीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले नेतृत्वको कमाण्डर तोकेका थिए । तर सो दिन आन्दोलनको कमाण्डर गरेका विवादास्पद दुर्गा प्रसाईँ भने अहिले फरार सूचीमा रहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।