काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले भारतबाट राजसंस्थाको पुनर्स्थापनाका लागि कुनै प्रकारको समर्थन नभएको भन्दै त्यससम्बन्धी हल्ला निराधार भएको बताए। सोमबार काठमाडौंमा आयोजित एक गोष्ठीमा बोल्दै सभापति देउवाले राजसंस्था फर्काउन भारतले सहयोग गरिरहेको छ भन्ने चर्चा केवल अफवाह मात्र भएको दाबी गरे।
गणेशमान सिंह फाउण्डेसनद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीको योगदान’ विषयक कार्यक्रममा उनले भने, “भारतले राजतन्त्र फर्काउने प्रयास गरिरहेको छ भन्ने कुरा तथ्यमा आधारित छैन। आदित्यनाथको तस्बिर छापिए पनि उनले स्वयं नै दूतावासमा गएर यस्तो कुनै समर्थन नगरेको बताएका छन्।”
देउवाका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ता गर्दै आफू राजतन्त्रको पक्षमा नरहेको खुलेर बताएका छन्। कार्यक्रममा देउवाले नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा भारत, विशेषतः भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदानलाई पनि स्मरण गरे। “चन्द्रशेखरजीको भूमिकाले नेपालमा प्रजातन्त्र स्थापनामा मार्ग प्रसस्त गर्यो,” उनले भने, “त्यसबेला भारतले नेपालमा प्रजातन्त्र चाहँदैन भन्ने धारणा थियो, तर चन्द्रशेखरको पहलले त्यो भ्रम चिर्ने काम गर्यो।”
नेपालमा गणतन्त्र स्थापनाको यात्रा लामो नभएको उल्लेख गर्दै देउवाले राजनीतिक दलहरूले मिलेर वर्तमान व्यवस्थालाई मजबुत बनाउनु पर्नेमा जोड दिए। “हामीले ठूलो संघर्षपछि ल्याएको यो प्रणाली हो,” देउवाले भने, “अब सबै राजनीतिक शक्ति मिलेर यसको संरक्षण र विकास गर्नुपर्छ।”




