राजनीति

नेपालगञ्जमा बीपीको सालिकमा कालोमोसो दलिएको घटनाप्रति एमाले महासचिवको कडा आपत्ति

काठमाडौं । नेपालगञ्जमा राप्रपाका कार्यकर्ताले बीपी कोइरालाको सालिकमा कालोमोसो दलिएको घटनाले राजनीतिक माहोल तातिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सो घटनाप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले उक्त कार्यलाई ‘धृष्टता’ भन्दै आलोचना गरेका छन्। “राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापनाको आन्दोलन भन्छन्, तर बीपीको सालिकमै कालोमोसो? यो आफैंमा एउटा खतरनाक सन्देश हो,” पोखरेलले लेखेका छन्।

उनले भने – घटनास्थल नेपालगञ्ज — जुन राजावादी आन्दोलनका संयोजक धवल शमशेरको गृहनगर पनि हो — त्यहाँबाट आएको सन्देशले कांग्रेसलाई हेपेको देखिएको छ । सो विषयमा कांग्रेस राप्रपाको गतिविधिप्रति आपत्ति जनाउनुपर्ने उनको भनाइ छ ।

पोखरेलले लोकतन्त्र र राजसंस्था सँगसँगै जान नसक्ने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रको शासनकालको उदाहरण दिएका छन्। उनका अनुसार बीपी कोइराला अहिलेको अवस्था हेरेर गणतन्त्रकै पक्षमा उभिन्थे। यो विषयमा नेपाली कांग्रेसका नेताहरू भने हालसम्म मौन छन्। तर एमाले महासचिवको यो प्रतिक्रिया सँगै घटनाले राष्ट्रिय राजनीतिको तहमा नयाँ बहस जन्माएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *