राजनीति

गणतन्त्रवादीको कित्तामा नउभिने बताएका रवि लामिछानेले बोक्लान् पूर्वराजालाई काँधमा ?

काठमाडौं । यतिबेला मुलुक गणतन्त्रवादी र राजावादी गरी दुई कित्तामा उभिएको छ । गणतन्त्रवादी शक्ति एकजुट जस्तै छन्, तर राजावादी समूह भने छिन्नभिन्न अवस्थामा छ । चैत १५ गते तीनकुनेको हिंसात्मक घटनाले राजावादीको मुहार हिलोले छोपेको छ । तर त्यही हिलो पखालेर राजसंस्थाको एजेन्डालाई सशक्त बनाउने अभियानमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । राजावादी आन्दोलनका कमान्डर तोकिएका दुर्गा प्रसाई हिंसात्मक घटना घटाएर भूमिगत भएका छन् ।

राजावादी आन्दोलन उठ्नै नसक्ने अवस्था देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यसको फाइदा उठाउने संकेत गरेका छन् । सोमबार पार्टी कार्यालयमा साढे पाँच महिनापछि सभापतिको औपचारिक जिम्मेवारी सम्हाल्नुअघि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले ठूल्ठूलो स्वरमा गणतन्त्रवादीको कित्तामा नउभिने प्रस्ट पारे । ‘जहाँ तपाईं उभिरहनु भएको छ, त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ ।

रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउनका लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’ यसको अर्थ अब आफू स्पष्ट रूपमा दक्षिणपन्थी कित्तामा उभिन्छु भन्न खोजेको हो ।

रविले चैत १५ गते तीनकुनेमा जम्मा भएका मानिस राजालाई विश्वास गरेर नभई शीर्ष नेताप्रतिको आक्रोशले सडकमा आएकोसमेत दाबी गरे । तर त्यस दिनको धनजनको क्षतिबारे उनले चुइँक्कसमेत बोलेनन् । ‘रास्वपा जनता आगो बलेको छ, त्यता ताप्ने पार्टी होइन’, उनले भने । यसले के देखिन्छ भने गणतन्त्रवादी र राजावादीको झगडाको फाइदा उठाउने रणनीतिमा रवि छन् । त्यसै पनि रवि पहिल्यैदेखि राजावादी कित्ताका मान्छे भएको उनकै संस्थापक महामन्त्री मुकुल ढकालले सार्वजनिक गरिसकेका छन् । राजावादी कि गणतन्त्रवादी लाइन लिने भन्ने ढुलमुलमै दुई महिनाभन्दा बढी समय व्यतित गरेको ढकालको भनाइ छ । भित्री चाहना राजावादी हुँदाहुँदै पनि देखाउनकै लागि रविले गणतन्त्रको खोल ओढेको देखिन्छ । अबको केही समयपछि रविले आफ्नो असली चरित्र देखाउने उनलाई नजिकबाट चिन्नेहरूको भनाइ छ ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा एकाएक पार्टी सभापतिको भूमिका सम्हाल्न आइपुगेका रवि कतै आफ्नो पार्टी गणतन्त्रवादीको कित्तामा त पुग्दैन भन्ने भयले भएको रास्वपाका एक नेताले बताए । ससुरा उद्धव पौडेल र श्रीमती निकिता पौडेलको वैचारिक आस्था राप्रपा भएकाले कतै रविले आगामी दिनमा दुर्गा प्रसाईको ठाउँमा पूर्वराजा ज्ञानेन्द्र शाहको काँध थाप्ने त होइन भन्ने चासो उत्पन्न भएको छ ।

रविले सोमबार पार्टी कार्यालयमा शनिबार आफू निर्वाचित भएको चितवन–२ मा आमसभा गरेर अघिल्लो सरकार ढलेर रातारात नयाँ सरकार बन्नुको कारण खुलासा गर्ने बताएका छन् । उनले आफू किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन तयार भएको दाबी पनि गरे । रविले सरकारले आफ्नो मौनताको फाइदा उठाएको पनि बताएका छन् । सरकारकै कारण मौनता भंग गरेको उनको भनाइ थियो । आफ्नो मौनताको फाइदा उठाउँदै सरकारले टाउकोमाथि तरबार झुण्ड्याएजसरी एउटा जिल्लाको मुद्दा अदालतमा पेस नै नगरी राखेको उनको भनाइ थियो । ‘मैले सोचेको थिएँ केही समय अझै शान्त बसौं ।

तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुण्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दासमेत नबुझाएर राखेको छ,’ उनले भने । आफू जनसुकै शक्तिसँग पनि लड्न तयार रहेको बताउँदै लामिछानेले वर्तमान सरकारको लुटलाई टुलुटुलु हेरेर नबस्ने दाबी गरे । ‘यिनलाई लागेको छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने चुपचाप बस्छ, यो डराउँछ । कुनै पनि बेला शिरमाथि लागेको तरबार खसाल, म थाप्न तयार भएर बसेको छु,’ उनले भने ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *