काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र कानुन व्यवसायी स्वागत नेपालसहित ४१ जनालाई आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ।थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्रलाई हतकडी लगाइएको छ । धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव जस्ता गम्भीर अभियोगमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ। अब उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।
तीनकुने घटनाका क्रममा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेताहरूको संलग्नता पुष्टि गर्न प्रहरीले प्रमाण संकलन गरिरहेको छ। घटनामा अझै केही संलग्नहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
यसैबीच, राप्रपाले आफ्ना नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै आन्दोलन गर्ने बताइरहेको छ । पार्टीका नेताहरूले मिश्र र राणालगायतका सबै नेताहरूको तत्काल रिहाइको माग गरेका छन्।
राज्यविरूद्धको कसुर र संगठित अपराधमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेरसहित ११ जना तथा आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनाविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।





