राजनीति

तीनकुनेमा तनावपछि दुर्गा प्रसाईंको आह्वान – ‘संयमित बनौं,

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण बनेको छ। अश्रुग्यास र लाठीचार्जपछि तितरबितर भएका प्रदर्शनकारीहरू फेरि मञ्चमा भेला हुन थालेका छन्।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सुरक्षाकर्मीले पहिला लाठीचार्ज गरे र त्यसपछि स्थिति नियन्त्रणमा लिन पाँच राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरे।

प्रहरीको बल प्रयोगपछि मञ्चमा रहेका नेताहरू पनि सुरक्षित स्थलतर्फ सरेका थिए। केही समयको अन्योलपछि प्रदर्शनकारीहरू पुनः संगठित हुँदै मञ्चतर्फ फर्किन थालेका छन्।

दुर्गा प्रसाईंको संयमको अपिल

आन्दोलनका अगुवा दुर्गा प्रसाईं मञ्चमा फर्किएर आफ्ना समर्थकहरूलाई संयमित रहन अपिल गरेका छन्। उनले माइकबाट बोल्दै समर्थकहरूलाई शान्तिपूर्ण रूपमा विरोध जारी राख्न अनुरोध गरे।

प्रसाईंले भने, प्रहरीले बल प्रयोग नगरोस्, हाम्रा समर्थकहरूले पनि कुनै अवाञ्छित गतिविधि नगरून्। हामी शान्तिपूर्ण आन्दोलनमा छौं।

प्रहरीको अश्रुग्यास प्रहारपछि आक्रोशित भएका केही प्रदर्शनकारीले नजिकका भवनहरूमा ढुंगामुढा प्रहार गरेका थिए। घटनाका क्रममा केही घरका सिसा फुटेका छन्। नेताहरू मञ्च छाडेपछि प्रदर्शनकारीहरू केही समय अन्योलमा परेका थिए। तर, दुर्गा प्रसाईं मञ्चमा फर्किएपछि आन्दोलन फेरि सक्रिय बनेको छ।

हाल तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडप रोकिएको भए पनि दुबै पक्ष सतर्क अवस्थामा छन्। प्रसाईंको संयमित रहन आग्रह गरेपछि समर्थकहरू मञ्चमा फर्किन थालेका छन्, भने प्रशासनले स्थिति थप बिग्रिन नदिन सुरक्षाकर्मीको संख्या बढाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *