काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूह र प्रहरीबीच तनाब सिर्जना भएको छ। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिरहेका समर्थकहरू निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।
प्रहरीले जुलुसलाई रोक्ने प्रयास गर्दा दुई पक्षबीच केहीबेर धकेलाधकेल भएको थियो। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई नियन्त्रणमा राख्न शान्तिपूर्ण रूपमा बस्न आग्रह गर्दै माइकिङ गरिरहेका छन्।
राजावादी समूहले निषेधाज्ञा तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले सुरक्षा सतर्कता थप कडा बनाएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिन थप बल प्रयोग गर्नुपर्ने स्थिति आउन नदिन संवादमार्फत स्थिति सम्हाल्ने प्रयास गरिरहेको छ।
काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रमुख क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।




