देश

प्रचण्डलाई विश्वप्रकाशको आग्रह : सरकारले गरेका हरेक निर्णयमा संसदमा प्रधानमन्त्रीको जवाफ नमागौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालत गइसकेको विषयलाई लिएर संसदमा अवरोध नगर्न आग्रह गरेका छन्।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

बिहीबार संसद भवन पुगेका शर्माले सरकारले गरेका हरेक निर्णयमा प्रधानमन्त्रीको जवाफ माग्दा उल्टो नजिर बस्ने बताए।

उनले भने, ‘कुलमानलाई हटाएको विषय गलत छ भन्नुहोस्। सरकारको यो निर्णयविरुद्धमा बोल्नुहोस्। तर, सरकारले गरेका हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाफ दिने भन्ने नजिर बसाल्यौं भने यसले भोलिका लागि सकारात्मक नजिर बस्दैन। त्यसैले सरकारले आफू अन्तर्गत कसैलाई हटाउँदा त्यस विषयमा प्रश्न उठाउनु स्वाभाविक हो, तर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषयको सन्दर्भमा कम्तिमा प्रधानमन्त्री भइसकेका प्रचण्डले यो विषय उठाउनुहुँदैनथ्यो भन्ने लागेको छ।’

कुलमानलाई पदबाट बर्खास्त गरेको विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेपछि आज बिहान ११ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।

बुधबार पनि संसद बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूले कुलमानको विषयलाई लिएर अवरोध गरेपछि स्थगित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *