काठमाडौं। नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो अटल प्रतिबद्धता दोहोर्याउँदै शक्ति प्रदर्शनको होडमा नलाग्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संविधानसभाबाट पारित संविधानलाई संरक्षण र कार्यान्वयन गर्ने पक्षमा दृढ रहने निष्कर्ष निकालेको छ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत ले राजावादी गतिविधि र गणतन्त्र विरोधी अभियानबारे व्यापक छलफल भएको जानकारी दिए। उनका अनुसार, नेपाली कांग्रेसलाई संविधानको वैधता र जनताको समर्थनमा कुनै शंका छैन, त्यसैले सडक प्रदर्शन आवश्यक नरहेको निष्कर्ष पार्टीले निकालेको छ।
संविधान र जनमतको सम्मानमा कांग्रेस अडिग रहने निर्णय गरेको छ। प्रवक्ता महतले भने,संविधानसभाद्वारा निर्मित संघीय लोकतान्त्रिक संविधानप्रति कांग्रेसको पूर्ण प्रतिबद्धता छ। यो संविधान नेपाली जनताको प्रतिनिधिहरूले निर्माण गरेको हो र यसलाई रक्षा गर्ने हाम्रो दायित्व हो।’ उनले राजावादीहरूले उठाइरहेको मुद्दा संविधानविरोधी भएको स्पष्ट पार्दै लोकतान्त्रिक प्रक्रिया र संविधानको सर्वोच्चतामा कांग्रेस अडिग रहने बताए।
हालै राजावादी समूहहरूद्वारा आयोजित प्रदर्शनप्रति टिप्पणी गर्दै महतले भने, हामीले शक्ति प्रदर्शनको होड गर्नु आवश्यक देख्दैनौं। संविधानको पक्षमा जनताको समर्थन प्रष्ट छ। हामी सडकमा उत्रेर प्रतिक्रिया दिने पक्षमा छैनौं।’ उनकाअनुसार, कांग्रेसले आफ्नो कार्यकर्ता र समर्थकलाई संविधानको रक्षा र कार्यान्वयनमा सचेत र संगठित बनाउन निर्देशन दिनेछ।
बैठकमा सहभागी नेताहरूले मुलुकलाई स्थायित्व र लोकतान्त्रिक मूल्यहरूमा आधारित बनाउन संविधानको रक्षा अनिवार्य भएको बताए। कांग्रेसले संवैधानिक व्यवस्थालाई कुनै हालतमा कमजोर हुन नदिने र संविधानविरोधी गतिविधिको लोकतान्त्रिक ढंगबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कांग्रेस नेतृत्वको यो अडानले राजावादी शक्तिहरूको दबाबको प्रतिरोध गर्ने, तर असंवैधानिक बाटो नअपनाउने स्पष्ट संकेत दिएको छ।




