काठमाडौं । १६ वर्षपछि पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ। लामो समयदेखि विवादका कारण रोकिएको चुनाव आज बिहान ८ बजेदेखि शान्तिपूर्वक भइरहेको छ।
निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलका अनुसार ७ हजार ४ सय विद्यार्थीले भोटिङ कार्ड लिएका छन्। ९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
विरासत बचाउने कि परिवर्तन ल्याउने ?
पीएन क्याम्पसमा अहिलेसम्म नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्नो पकड कायम गर्दै आएको छ। यसपटक पनि अनेरास्ववियु आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छ भने अन्य विद्यार्थी संगठनहरू र स्वतन्त्र उम्मेदवार एकछत्रता तोड्ने रणनीतिमा छन्। पुराना दलको छाताका रुपमा रहेर दलका भातृ संगठनहरुले नयाँ नेतृत्वबारे कुनै रणनीति तयार गर्न नसकेको स्वतन्त्र विद्यार्थीहरुको अरोप छ ।
विश्वविद्यालय र विद्यालयहरुमा भएको शिक्षाको गुणस्तर भौतिक सेवासुविद्या लगायतका विषयमा गुनासो सार्वजनिक भइरहेको तर पुराना दलका भातृसंघ संगठनहरुले विद्यार्थीहरुको हक अधिकार र सुविद्याका बारेमा काम गर्न नसकेकाले पुराना दलका भातृ संघसंगठनको विरासत तोडेर नयाँ नेतृत्व चयन गर्ने विषयमा स्वतन्त्र विद्यार्थीहरुले निकै चासोका साथ कुरा उठाइरहेका छन् । स्वतन्त्र विद्यार्थीहरुले शान्तिपूर्ण निर्वाचन प्रणाली , पार्दशीता र नियमितताका विषयमा खुलेर बोलिरहेका छन् । तर विजयी हासिल गरेका सो संङ्गठनहरुले कसरी नेतृृतव गर्लान ? हेर्न बाँकी नै छ ।
प्रतिस्पर्धी को–को छन् ?
अनेरास्ववियु – विष्णु पोखरेल
नेपाल विद्यार्थी संघ – सुशील भट्टराई
अखिल क्रान्तिकारी (माओवादी केन्द्र) – नवीन अधिकारी
अनेरास्ववियु समाजवादी, अखिल समाजवादी र अखिल क्रान्तिकारी (मोहन वैद्य) संयुक्त प्यानल – सन्तोष पौडेल
अखिल छैटौं – मिलन सुनार
प्राज्ञिक विद्यार्थी परिषद् – दिप्सन गुरुङ
स्वतन्त्र उम्मेदवार – विप्लवी न्यौपाने र कमल सुवेदी रहेका छन् भने स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीनिकट विद्यार्थीले समर्थन गरेका छन्।
सो क्याम्पसबाट स्ववियु सभापति बनेका धेरै नेता राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका छन्। एमाले नेता सोमनाथ प्यासी गण्डकी प्रदेश प्रमुख भइसकेका छन् भने स्व. रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका थिए। पूर्वमन्त्री पदम गिरी, पोखराका मेयर धनराज आचार्य, नेता राजीव पहारीलगायत यहीँका स्ववियु सभापति हुन्।
१६ वर्षपछि मतपेटिका खुल्दै
अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु सभापति निर्वाचित भएकी थिइन्। त्यसपछि निरन्तर विवादका कारण चुनाव रोकिएको थियो। यसपटकको चुनावले पुरानै सत्ता बलियो बनाउनेछ वा नयाँ नेतृत्वलाई जन्म दिनेछ भन्ने उत्सुकता सबैमा छ।




