
काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।
विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यो संशोधन बजेट कार्यान्वयनको प्रणालीलाई प्रभावकारी बनाउन र बजेट प्रणालीलाई अनुशासित बनाउने उद्देश्यले ल्याइएको बताए। “हामीले बजेट निर्माण गर्दा अब अनुशासनतर्फ फर्किन विलम्ब भइसकेको छ। बजेट निर्माणको अनुशासनको गाम्भीर्यतालाई ध्यान दिँदै यो संशोधन आएको हो,” उनले भने।
राजस्वले साधारण खर्च धान्न धौधौ भइरहेको अवस्थालाई चित्रण गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको विनियोजनमा कैयौं अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको तथा ३१ प्रतिशतको राजस्व वृद्धिको लक्ष्यमा आधारित रहेर बजेट विनियोजन गर्दा पनि साधारण खर्च धान्न मुस्किल परेको उल्लेख गरे।
उनले चालु आर्थिक वर्षमा करिब १८ हजार योजना छनोट भएको र ती आयोजनाको कार्यान्वयन सुनिश्चितता निकै चुनौतीपूर्ण बन्दै गएको बताए। उच्च प्रतिफल दिने आयोजनामा जोड दिएको बताउँदै उनले आफ्नै धरातलमा उभिएर अन्तर्राष्ट्रिय समुदायको पनि साथ लिएर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे।
बैंकमा तरलता र आकारको विषयमा धारणा राख्दै उनले पछिल्लो पटक सरकारले नीतिगत र कानुनी सुधार गरेर लगानीको वातावरण सिर्जना गरिरहेको र त्यसको सकारात्मक प्रभाव देखिएको उल्लेख गरे। सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय आवश्यकताका आधारमा दुरुपयोग नहुने गरी ऐनमा परिमार्जन गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिए।
यसअघि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राजस्व चुहावट, वैदेशिक सहायता, बैंकिङ क्षेत्रको तरलता, पुँजीगत खर्च, रोजगारी सिर्जनालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले बजेट प्रणाली सुधार, वित्तीय अनुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएका थिए।