देश

डा. युवराज संग्रौलामाथिको आरोपबारे अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं । काठमाडौं स्कुल अफ ‘ल’ (केएसएल) का कार्यकारी निर्देशक डा. युवराज संग्रौलामाथि लागेको आरोपका विषयमा अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

विद्यार्थीमाथि भएको दुर्व्यवहारको विषयमा पूर्वविद्यार्थीहरूले समेत स्वतन्त्र छानबिनको माग राखेपछि बसेको व्यवस्थापन समितिको बैठकले स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय गरेको प्राध्यापक अञ्जनकुमार दाहालले जानकारी दिए । व्यवस्थापन समितिको निर्णय अनुसार, पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको उनले बताए ।

आइतबार केएसएलले गरेको पत्रकार सम्मेलनमा प्राध्यापक दाहालले समितिलाई ‘तटस्थ जाँचबुझ समिति’ भएको बताएका छन् । सो समितिका सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने उल्लेख गरिएको छ ।

उनका अनुसार समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्न समयसिमा तोकिएको छ । समितिलाई प्राप्त निवेदनहरूमाथि छानबिन गर्ने, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य प्रमाण बुझ्ने र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले आफूले स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताएका छन् । उनले सो विषयमा कलेजमा भएका ११ सय विद्यार्थीहरुलाई समेत सोध्न आवश्यक रहेको बताए ।

 

कलेजको पाँचौ वर्षमा अध्यनरत् एक विद्यार्थीले संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेपछि सो विषयले चर्चा पाएको थियो ।

आफूले कलेजमा विद्यार्थीबारे हुने दुर्व्यवहारमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएपनि सुनुवाइ नभएको उनको दाबी थियो । गत शुक्रबार कलेजका १०० जना पूर्वविद्यार्थीले संयुक्त वक्तव्य जारी गर्दै यो मामलामा निष्पक्ष जाँच गर्न माग गरेका थिए । सो कलेजले केही दिन अगाडी सार्वजनिक गरेको विज्ञप्तीमा संग्रौलाले विद्यार्थीमाथि भएको दुव्र्यवहार भए आफू अनुसन्धानलाई सहयोग गर्न तयार रहेको समेत उल्लेख गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *