
काठमाडौं। देशभरका लाखौं सहकारी पीडित पुनः सडक आन्दोलनमा उत्रने तयारी गर्दैछन्। बचत फिर्ताका लागि सरकारसँग पटक–पटक सहमति भए पनि कार्यान्वयन नहुँदा उनीहरू निराश भएका छन्। सोही कारण सहकारी पीडितले सरकारलाई आफ्ना माग पुरा गराउने विषयमा आगामी चैत १७ गते काठमाडौंमा ठूला प्रदर्शनमार्फत सरकारमाथि दबाब दिने योजना बनाएका छन् । सहकारी पीडितहरूले यसअघि पनि सरकारसँग सात बुँदे सहमति गरेका थिए, जसमा सहकारी ठगहरूको सम्पत्ति जफत गर्ने, पीडितहरूको रकम फिर्ता गर्ने लगायतका माग समेटिएका थिए। तर, ती सहमतिहरू अहिलेसम्म कार्यान्वयन नभएपछि पुनः संघर्ष गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
जागरण र्यालीबाट सन्देश :
आन्दोलनको तयारीबारे जानकारी दिनका लागि आज जावलाखेलमा जागरण र्याली आयोजना गरियो । ललित मण्डपमा उपस्थित प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लगाउँदै “सम्झौताहरू कार्यान्वयन गर”, “ठगहरूको सम्पत्ति जफत गर” भन्ने माग राखे।
के–के छन् पीडितहरूको माग ?
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा भइरहेको आन्दोलनमा मुख्यत सरकारसँग भएका सात बुँदे सहमति तुरुन्त कार्यान्वयन,सहकारी ठगहरूको सात पुस्ते सम्पत्ति जफतको माग,पीडितहरूको रकम फिर्ता गर्न स्पष्ट योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउने, सम्झौतालाई राजपत्रमा प्रकाशित गर्न माग राखेका छन् ।
के आन्दोलन निर्णायक मोडमा छ ?
सहकारी पीडितको धैर्य सकिँदै गएको संकेत गर्दै सहकारी पीडितहरुले सहकारी क्षेत्रमा ठगीका घटना बढिरहेको र सरकार मौन रहेको गुनासो गरेका छन् । सहकारी पीडितहरूको निरन्तर आन्दोलनले सरकारलाई दवाव बढाउने निश्चित छ। तर, सरकारले समस्या समाधान नगरे आन्दोलन झन् चर्किन सक्ने देखिन्छ। अब सरकारको कदम के हुने हो, त्यो भने हेर्न बाँकी छ। सहकारी पीडितहरुले न्याय नपाए कडा आन्दोलन गर्ने चेतावनी समेत सरकारलाई दिएका छन् ।
अघिल्लो सरकारले छानबिन गर्न नसकेको विषय वर्तमान सरकारले गरेकोमा सहकारी पीडितहरु खुशी छन् । तर अहिलेसम्म आफूहरुको विभिन्न सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नखाएकोप्रति सहकारी पीडित आक्रोषित बन्दै आएका छन् । सहकारीको रकम हिनामिना गर्नेहरुको सम्पति रोक्का र जफत गरेर भएपनि सरकारले आफूहरुको फसेको पैसा फिर्ता पाउनुपर्ने माग राखेका छन् । सरकारले विभिन्न सहकारीका ठगीहरुलाई कारबाही गरेपनि हालसम्म आफूहरुको हिनामिना भएको रकम फिर्ता गराउनु सरकारको दायित्व भएको उनीहरुको भनाइ छ ।