गुल्मी। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा भएका हरेक परिवर्तन कांग्रेस पार्टीको नेतृत्वमा मात्र सम्भव भएको बताएका छन्। देशका हरेक सकारात्मक परिवर्तनमा कांग्रेसको नेतृत्व भएको हुँदा अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेस पार्टीले गर्ने उनले बताए।
नेपाली कांग्रेस क्षेत्र नम्बर-१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले कांग्रेसले सँधै देश र जनताको पक्षमा काम गर्दै आएको बताए। विगतका परिवर्तनमा पार्टीले जसरी नेतृत्व निर्वाह गरेको थियो, त्यसैअनुसार आगामी दिनमा पनि देश हुने सकारात्मक परिवर्तनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।
“जनताका इच्छा, चाहना अनुसार पार्टीका गतिविधि सञ्चालन गर्न जरुरी छ,” उनले भने, “कांग्रेस पार्टीलाई सशक्त रूपमा बलियो र एक ढिक्का बनाउन सबै नेता कार्यकर्ता एकताबद्ध भएर सङ्गठन गर्न सबै तहका नेता कार्यकर्ता लाग्न आवश्यक छ।” पार्टीलाई मिलाएर लैजानु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहले बताए।
संविधानको विरुद्धमा कोही पनि लाग्न नहुने भन्दै वर्तमान संविधान जनताको चाहना अनुसार जारी भएको बताए। कांग्रेस पार्टीको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको हुँदा संविधानको रक्षाका लागि सबै पक्ष जरुरी रहेको बताए।
संविधानको विधिवत रूपमा कार्यान्वयन गर्नुका साथै संविधानको भावना अनुरूप काम गर्न तिनै तहका सरकार लाग्नुपर्ने उनको भनाइ छ। संघीयता, लोकतन्त्र र समावेशीताको रक्षा र सफलपूर्वक कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए। पछिल्लो समय देशको व्यवस्थाको विरुद्धमा बोल्नेहरू देखिएको भन्दै उपप्रधानमन्त्री सिंहले देशका लागि यो व्यवस्था अति उत्तम व्यवस्था भएको बताए।
अहिलेको व्यवस्थाका कारण देशमा विगतको तुलनामा धेरै सकारात्मक परिवर्तनहरू भएको उनले बताए। यो व्यवस्था देश र जनताको हितमा रहेको हुँदा यसको विकल्प अरू केही नभएको उनको भनाइ छ। देशमा राजनीति स्थिरता, स्थायीत्व र सुशासन कायम गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकार बनेको बताए।
पछिल्लो समय देशका विरुद्धमा नकारात्मक कुराहरू गर्ने हाबी भएको हुँदा त्यसलाई चिर्ने गरी गठबन्धन सरकार लागेको बताए। गठबन्धन सरकारले जनताको इच्छा, चाहना अनुसार देशमा विकासका विभिन्न कामहरू गरेको उनको दाबी छ।




