
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने बताए ।
सोमबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीमा प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए ।
‘हामी बीचमा कतिपय कुरा नमिलेका हुनसक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने ।
उनले कांग्रेसलाई जीवन्त पार्टीका रूपमा अघि बढाउनुपर्ने पनि बताए । ‘कांग्रेसका प्रति देशभित्र र बाहिर आकर्षण छ,’ उनले भने ।
देउवाले एकताबद्ध भएर अघि बढे वर्तमान सरकार सफल हुने दाबी समेत गरे । सत्तामा प्रमुख दल कांग्रेस–एमाले भएपनि अन्य दलको पनि सहभागी हुने राम्रो कुरा भएको बताए । उनले भने, ‘अरु पार्टीका साथीहरु पनि सरकारमा समावेश हुनुभएको छ । अत्यन्तै राम्रो कुरा हो ।’