काठमाडौं । नेपाली कांग्रेसले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकतालाई औँल्याउँदै दुईदिने नेपाल स्टार्टअप र एसएमई सम्मलेनको आयोजना गरेको छ । बुधबार नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटमा उद्योगी व्यावसायीहरुले विभिन्न किसिमका घरेलु तथा सिपयुक्त सामानहरु र स्वास्थ्यलाई आरामदायिक बनाउन मदत गर्ने विभिन्न प्रोडक्टसमेतको प्रर्दशनी गरिएको थियो । नेपाली कांग्रेसले अबको युग औधोगिक , आत्मानिर्भरता र स्वरोजगार हुनुपर्नेमा जोड दिदैँ आयोजना गरेको प्रदर्शनीले नेपाली जनतामा थप उत्साह बढेको देखिन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता रहेको उल्लेख गर्दै हजारौँ देश छोडेर विदेशमा रोजगारीका लागि जान बाध्य भएका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउन देशभरी नै विभिन्न किसिमका उत्पादन गर्न सक्ने उद्योगहरु संचालन गर्न तथा उद्यमशीलताको विकास गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् । सभापति देउवाले सो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउने विश्लेषण गर्दै सभापति देउवाले पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दै गएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले अहिलेका युवा पुस्ता थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयासमा आएको उल्लेख गर्दै यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने भएकाले सरकारले त्यस्तो कार्यमा उत्सुक्ता बढाउन आवश्यकता रहेको उल्लेख गरे । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने र थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने नेपालमा र्नैरोजगारीको क्रान्ति ल्याउन पनि सकिने भन्दै सरकारलाई सुझाव दिए।
विभागले गरेको अत्यन्त अनुकरणीय र सह्रानीय कामको सुरुवातप्रति प्रशंशा गर्दै सभापति देउवाले नयाँ जोश बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा यो कार्यक्रममा छलफल हुने विश्वास लिएका छन् । सभापति देउवाले भने,‘ बहु सम्भावनाका क्षेत्र कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठुलो टेवा पुग्न सक्छ । आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो नीजि क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ ।’’
नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको सभापति देउवाले स्पष्ट पारे । सभापति देउवाले नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवर्द्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या बुझि पार्टीलाई सुझाव दिन “उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग” गठन गरेको बताए । उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानुनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको र यो कानुनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको सभापति देउवाको भनाइ छ ।
सभापति देउवाले ‘‘मुलुकको समुन्नतीका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि भएको उल्लेख गर्दै सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास गर्न आवश्यक रहेको स्पष्ट पारे । दुई दिनसम्म हुने कार्यक्रममा विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुनेमा आफू ढुक्क रहेको सभापति देउवाले बताए ।
कांग्रेस सो विभागले आयोजना गरेको नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलनको दौरानमा उत्पादित वस्तुको प्रदर्शनीको साथै सरोकारपक्षका समस्या सुन्ने कार्य कांग्रेसले राखेको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपाको प्राङ्गणमा ८० भन्दा बढी स्टलहरू राखिएका छन् । उत्पादनदेखि आइटी क्षेत्र, कपडा र नवीकरणीय ऊर्जाका उत्पादनसम्म प्रदर्शनीमा राखिएका छन् । नेपालमा उत्पादित चिया, मह, ढाका र अल्लोको कपडा, च्याउलगायतका कृषिजन्य उत्पादन पनि प्रदर्शनीमा छन् । सो प्रर्दशनी देखेर कांग्रेसले लिएको नीतिप्रति नागरिक समाजले उत्साह व्यक्त गरेका छन् ।
नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रबद्र्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरु हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने नेपालका उद्योगी–व्यवसायीहरुले बताएका छन् । स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरुले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताउँदै यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको भन्दै यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न सरकारलाई आग्रह समेत गरेका छन् । उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताए। कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरुलाइ उधम क्षेत्रमा प्रबेश गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत उनले बताए ।
काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले चुनौतीलाई फुकाउन बैंक र बित्तीय संस्थाले सहज रुपमा ऋण लिन सकिने व्यवस्था गरेको प्रष्ट पारे । त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । उनले सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्वपूर्ण भएकाले बैंक बित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुको लागि विश्वास गरेर नेपालमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताइन् । उनले भनिन्,‘नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरु आवद्ध छन् । देशभर लाखौं उद्यमीहरुलाई यसमा जोडन भुमिका खेलेको अध्यक्ष ज्ञवालीले बताएकी हुन् ।
विजनेस अक्सिजनका सीईओ सिद्धान्त राज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । नेपालमा युवा पुस्ताले साइड विजनेस गरेर लाखौँ कमाइरहेका छन् । केही नभएको भन्ने होइन तर युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि लगानीमा सहजीकरण र कानुनी अड्चनहरु फुकाउनुपर्ने देखिन्छ उनले भने ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन् । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा नपर्ने उल्लेख गर्दै सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएको विश्वास व्यक्त गरे ।
२७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेश कुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताएका छन् । उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सरकारले उद्योगी व्यवसायीको लागि कानुनी व्यवस्थाको सहजीकरण गर्न र युवाहरु व्यवसायिक क्षेत्रमा प्रवेश गराउनमा जोड दिनुपर्ने बताए ।






https://www.facebook.com/nepalicongresshq/videos/1064533589198611




