काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरूले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन्।
सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूलाई रुघा लागेको समयमा आईसीयूमा राखेको र भेन्टिलेटरमा जडान गरेको तस्बीर सार्वजनिक गरिएकोमा असन्तोष जनाए।
“मलाई रुघाखोकी केही बढी लाग्यो, तर जब मैले हाच्छ्यु गरेपछि आईसीयूको भेन्टिलेटरमा राखेको र अक्सिजन मास्क लगाएको फोटो सार्वजनिक गरियो। तपाईहरूले त्यो फोटो देख्नुभएको होला, सुन्नुभएको होला। मलाई रुघा लागेको थियो र अहिले पनि पूर्ण रूपमा निको भएको छैन। एन्टिबायोटिकको असरले केही कमजोरी महसुस भएको छ,” उनले भने।
ओलीले विरोधीहरूले गरेको भ्रम फैलाउने प्रयास विफल हुने उल्लेख गर्दै भने, “जो आशमा साथीहरूले ती तस्बीरहरू देखाउँछन्, ती सबै झूट र भ्रम मात्र हुन्। त्यो कुनै पनि अवस्थामा सही हुँदैन।”
चिसोको कारण तीनदेखि चार दिनसम्म बालुवाटारमा आराम गरिरहेका ओलीले आजबाट सार्वजनिक कार्यक्रममा पुनः भाग लिन थालेका छन्।




