राजनीति

प्रभु बैंक किन बस्दैछ आर्थिक अपचलनका अभियुक्त रविको बैंक ग्यारेन्टी ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था देशको ऐन कानुन र संविधानको परिधिमा बाँधिएका हुन्छन् । तर पछिल्लो समय केही वाणिज्य बैंकले ऐन र कानुनलाई धोती लगाउन थालेका छन् । यसमा अग्रपंक्तिमा पर्छ प्रभु बैंक ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियुक्त हुन् । उनी विरुद्ध कास्की, काठमाडौं, चितवन, रुपन्देही र पर्सा सहकारी ठगीसम्बन्धी मुद्दा परेको छ । उनीलाई कास्की प्रहरीले ८४ दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धानसमेत गरेको थियो । तर जब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गर्छ, तब अदालतले उनलाई धरौटीमा छोड्दै आएको छ । अनि अदालतमा रविको धरौटी रकम प्रभु बैंकले ग्यारेन्टी बसेर बुझाउँदै आएको छ ।

कास्की अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् । यदि तोकिएको धरौटीबापतको रकम अहिले रविसँग नभए अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो । रविले ६० लाख रुपैयाँ बुझाउन नसकेको अवस्थामा हिरासत बस्नुपर्ने अवस्था आउँथ्यो । तर, अपर्झट अवस्थामा प्रभु बैंकले विश्वासको आधारमा रविलाई हिरासत बाहिर राख्न निश्चित कमिसन लिएर ग्यारेन्टी बसेको हो ।


यस्तो सम्झौता तीन पक्ष बसेर गरिन्छ । सोही सम्झौताअनुसार बैंकले ग्यारेन्टीबापतको रकम असुल गर्छ । तर, बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । सोबापत बैंकले ग्यारेन्टी जारी गर्न माग गर्ने पक्ष (रवि)बाट निश्चित कमिसन लिएको हुन्छ । बैंक ग्यारेन्टीको लिखतबमोजिमको रकम अदालतको मागबमोजिम बैंकले भुक्तानी गरेपछि उक्त रकम बैंकले कर्जामा परिणत गरी बैंक ग्यारेन्टी लिखत गरिदिने (रवि)बाट ग्यारेन्टी रकम तथा सोको ब्याज असुलउपर गर्छ ।

सत्तारुढ दल एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले रविलाई थुनामा राखी सहकारी ठगीमा अनुसन्धान गरिरहेको छ । तर एमालेकै सांसद भट्टचन भने बैंक ग्यारेन्टी राख्नका लागि दौडधूप गर्दै लामिछानेलाई छुटाउँदै आएका छन् । भट्टचनकै अनुरोधमा प्रभु बैंकले काठमाडौं र पोखरामा लामिछानेका लागि बैंक ग्यारेन्टी राखेर थुनामुक्त गराएको बुझिएको छ ।
प्रभु मनी ट्रान्सफरका देवी भट्टचन र रास्वपा नेता मोहन थापाबीच हार्दिक सम्बन्ध रहेको बताइन्छ । रविलाई अदालतले धरौटी माग गरेमा त्यसका लागि लाखौं रुपैयाँ आवश्यक पर्ने ठानेर त्यसको व्यवस्थापनका लागि थापा दुई महिनाअघि अमेरिकाबाट नेपाल आएको बुझिएको छ । थापा रविका एस म्यान हुन् । रविले लाखौं रुपैयाँ हुण्डीमार्फत अमेरिका पठाउँदा त्यहाँ थापाले नै म्यानेज गरिरहेको रास्वपा नेताहरुको भनाइ छ । थापा अमेरिकामा आर्थिक कारोबारमा बदनाम व्यक्ति हुन् ।

रास्वपाका केन्द्रीय सदस्य थापाले भट्टचनको प्रभु मनी ट्रान्सफर्मरको रकम चलाउँदै आएका छन् । भट्टचनले अवैध हुन्डीमार्फत् थापालाई अमेरिकामा रकम पठाउने गरेको आरोप छ । भट्टचनविरुद्ध सहकारीको ९८ करोड रुपैयाँ रकम अपचलन प्रकरणमा प्रहरीमा जाहेरी परेको छ । प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै ठगीमा जाहेरी दिएकी थिइन् । तर ९८ करोड सहकारी ठगीमा किटानी जाहेरी पर्दा पनि सत्तारुढ दलका सांसद भट्टचनलाई प्रहरीले अनुसन्धान नगरी उन्मुक्ति दिँदै आएको छ ।

त्यसमा पनि सम्पत्ति शुद्धीकरणको मुद्दाका अभियुक्त रवि लामिछानेको बैंक ग्यारेन्टी बसेकोमा प्रभु बैंकमाथि राज्यले छानबिन गर्नुपर्ने आवाज उठेको छ । यससँगै रवि लामिछानेलाई प्रभु बैंकले कुन विश्वासको आधारमा धरौटी रकमको बैंक ग्यारेन्टी बसेको हो त्यसबारे आमजनतालाई जानकारी गर्नुपर्ने सर्वसाधारणको माग छ । किनभने रवि सहकारी ठगीका अभियुक्त हुन् । राज्यले नै थुनाउन अभियुक्त करार गरेको व्यक्तिको करोडौं रुपैयाँ धरौटीको ग्यारेन्टी बस्नु भनेको सामान्य विषय होइन । रविविरुद्ध अझै रुपन्देही, चितवन र पर्सा अदालतमा मुद्दाको छिनोफानो हुनै बाँकी छ । त्यहाँको अदालतले धरौटी माग गरेमा फेरि पनि प्रभु बैंक नै ग्यारेन्टी बस्ने सम्भावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *