
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा प्रधानमन्त्रीको कुर्सी गुमेको रिस अझै मत्थर भएको छैन । त्यही भएर आफ्नो सरकार ढलेको ६ महिना बितिसक्दा पनि उनलाई सत्ताको चुस्कीले घरीघरी सताइरहन्छ र भन्न थाल्छन्, केपी ओलीको सरकार चाँडै ढल्छ । माघे संक्रान्तिका दिन मंगलबार देश चाडपर्वमा रमाइरहेका बेला प्रचण्ड भने सिन्धुपाल्चोकको सुकुटेमा ओली सरकार आजै ढल्छ, भोलि नै ढल्छ जस्तै गरी भाषण गर्दै थिए । उनले ओली सरकारको दिनगन्ती सुरु भइसकेको मात्र बताएनन्, यो सरकार ढलिहाल्छ भन्दै आफू रिल्याक्समा रहेको पनि भने ।
उनले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे । ओलीको सरकारको सबैभन्दा बढी कोही आलोचक छ भने ती प्रचण्ड नै हुन् । त्यही भएर आफ्नो कुर्सी गुमेको ६ महिना बित्दा पनि उनमा छटपटी अझै कायम छ ।
‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ उनले भने । आफूले सरकार ढल्ने मिति तोक्न नसक्ने बताउँदै उनले सत्तारुढ दल कांग्रेसभित्र पनि सरकारप्रति असन्तुष्टि भएको दाबी गरे । ‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ उनले भने, ‘सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ नेपाली कांग्रेसभित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरुको, संस्थापनमै भएका नेताहरुको पनि असन्तुष्टि बाहिर आइनै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन ।’
प्रचण्डले यो सरकार अलोकतान्त्रिक र असंवैधानिक भएकाले टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेकोसमेत बताए । उनको यो अभिव्यक्तिले ओली सरकार ढाल्न उनी कतिसम्म दौडधूपमा लागेका रहेछन् भन्ने रहस्य पनि खुल्छ । ‘यो सरकार टिकिराखोस् भन्ने हाम्रो उद्देश्य हैन, अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना हुँदैन,’ उनले भने, ‘अहिले जसरी सरकार चलिरहेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ । आफैंले छोट्यायो भन्ने लाग्या छ ।’
हरेक जिल्लामा पार्टीका कार्यक्रममा गए पनि प्रचण्डले ओली सरकारको आयुबारे बोलिहाल्छन् । यसो भन्नुमा उनको भित्री रणनीति रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । सरकार ढल्दैछ भनेपछि निजामती कर्मचारी प्रशासनले राम्रोसँग काम गर्न नसक्ने र त्यसले गर्दा सरकारको लोकप्रियताको ग्राफ घट्ने प्रचण्डको आंकलन देखिन्छ । त्यही भएर मनोवैज्ञानिक दबाब दिन विगत ६ महिनादेखि उनले सरकारको आयुबारे बोल्ने गरेको प्रस्ट हुन्छ । केही हदसम्म प्रचण्डको यो अभिव्यक्तिले भ्रम सिर्जना नगरेको भने होइन । किनकि जुन ढंगले सरकार सञ्चालन हुनुपथ्र्यो, त्यो हुन सकेको छैन ।
प्रधानमन्त्री ओली आफैं सरकारको गतिलाई लिएर असन्तुष्ट छन् । उनले निजामती प्रशासनलाई बेलाबेलामा कामको गति बढाउन निर्देशन दिइरहेका छन् । अर्को, सत्तारुढ कांग्रेसभित्रकै केही स्वार्थी नेताका कारण पनि प्रचण्ड हौसिएर सरकार ढलिहाल्छ भन्न थालेका छन् । शेखर कोइराला, विश्वप्रकाश शर्मा, एनपी साउद, अर्जुननरसिंह केसी जो हिजो एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्थे, आज सरकारको आलोचनामा उत्रिएकाले पनि प्रचण्ड उत्साही भएका हुन् ।
तर यो सरकार निर्माणको सूत्राधार केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा भएकाले जबसम्म दुई नेताबीच विश्वास कायम रहन्छ, प्रचण्डले जतिसुकै कराए पनि सरकार ढल्दैन । त्यही भएर पनि ओली र देउवाबीच फाटो ल्याउन प्रचण्डको ‘सरकार ढल्छ’ भन्ने तुरुप प्रयोग भएको हो । जुन अहिलेको अवस्थामा काम नलाग्ने अस्त्र हो ।