काठमाडौं । विगतदेदि पर्यटन क्षेत्रमा देखिएको विकृति र विसंगति हटाउनका लागि पर्यटन क्षेत्रका निजी व्यवसायीहरू साझा संस्थागत संरचनामार्फत सरकारसँग संवाद र सहकार्य गर्ने तयारीमा जुटेका छन्। पर्यटनसम्बद्ध विभिन्न संघ–संस्थाका अगुवाहरूको भेलाले छुट्टै नेपाल पर्यटन व्यवसायी महासंघ गठन गर्ने निर्णय गर्दै त्यसका लागि तदर्थ समिति गठन गरेको छ।आइतबार काठमाडौंमा आयोजित भेलाले ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो। समितिलाई महासंघ गठनका लागि आवश्यक विधि, विधान तथा संरचनाको तयारी गर्ने जिम्मेवारी दिइएको छ।
महासंघ गठनको प्रस्ताव पर्यटन क्षेत्रका व्यवसायीहरूबीच साझा समस्या समाधान, नीतिगत पैरवी र सरकारसँग संस्थागत रूपमा संवाद गर्ने आवश्यकताबाट अघि बढाइएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार पर्यटन क्षेत्रको समग्र विकास र राज्यसँगको सहकार्यका लागि निजी क्षेत्रलाई एउटै छातामुनि संगठित गर्ने आवश्यकता महसुस गरिएको हो। ‘व्यवसायिक हकहित र यस क्षेत्रको प्रवर्द्धनमा निजीक्षेत्र आफैँ सक्रिय हुन आवश्यक भएकाले एउटै महासंघमा संगठित हुने निर्णय गरेका हौँ,’ शाहले भने।
महासंघ गठनको तयारीसँगै निजी क्षेत्रका व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। निजी–सरकारी साझेदारीमा स्थापित बोर्डले पर्यटन क्षेत्रको अपेक्षित विकास र प्रवर्द्धन गर्न नसकेको व्यवसायीहरूको धारणा छ। पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट ठूलो लगानी भइरहे पनि व्यवसायिक वातावरण निर्माण, पूर्वाधार विकास, नीतिगत स्थिरता तथा पर्यटन प्रवर्द्धनमा सरकारी सक्रियता पर्याप्त नभएको उनीहरूको गुनासो छ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज ९नारा० का पूर्वअध्यक्ष शिव अधिकारीका अनुसार पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढिरहेको भए पनि त्यसअनुसार राज्यको प्राथमिकता र सक्रियता देखिन नसकेपछि व्यवसायीहरू साझा रूपमा अघि बढ्नुपर्ने अवस्था आएको हो। यद्यपि, व्यवसायीहरूले प्रस्तावित महासंघलाई पर्यटन बोर्डको विकल्पका रूपमा नभई निजी क्षेत्रका विभिन्न संस्थाबीच समन्वय गर्ने साझा संयन्त्रका रूपमा अघि बढाउने बताएका छन्।
भेलामा होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टान, पाटा नेपाल च्याप्टर, नारा, एक्सपेडिसन अपरेटर्स एसोसिएसन अफ नेपाल (इओन), नेपाल पर्वतारोहण संघ (एनएमए), एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (एओएएन), स्काल नेपाललगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए। यी संस्थाहरूबीचको छलफलले पर्यटन क्षेत्रका साझा समस्यामा एउटै धारणा बनाउने र सरकारसँग संयुक्त रूपमा पहल गर्ने आवश्यकता औँल्याएको छ।
व्यवसायीहरूका अनुसार महासंघले विभिन्न संघ-संस्थाबीच समन्वय गर्ने, साझा समस्या पहिचान गर्ने, नीति तथा बजेट निर्माणमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्ने र कार्यान्वयनको अवस्थाबारे सरकारसँग नियमित संवाद गर्ने भूमिका निर्वाह गर्नेछ। तदर्थ समितिका संयोजक सागर पाण्डेले पर्यटन क्षेत्रका समस्या पहिचान गरेर त्यसको समाधानका लागि जिम्मेवारी र समयसीमा तोक्नुपर्ने बताएका छन्। ‘हामीले धेरै बैठक गरिसक्यौँ। अब बैठक मात्र होइन, मापनयोग्य परिणाम चाहिन्छ। समस्या पहिचान गरौँ, समाधान तय गरौँ, जिम्मेवारी बाँडौँ र समयसीमाभित्र परिणाम निकालौँ,’ पाण्डेले भने। उनका अनुसार नयाँ महासंघ अर्को एउटा संस्था थप्ने उद्देश्यले मात्र गठन गर्न खोजिएको होइन। पर्यटन क्षेत्रका विभिन्न संस्थाको सामूहिक शक्ति र अनुभवलाई नीतिगत तहमा प्रभावकारी रूपमा प्रयोग गर्ने उद्देश्यले साझा संरचना बनाउन लागिएको हो।
तदर्थ समितिको तत्कालीन प्राथमिकतामा सरकारले प्रस्ताव गरेको पर्यटन विधेयकलाई पर्यटन व्यवसायमैत्री बनाउन पहल गर्ने विषय पनि राखिएको छ। समितिले निजी क्षेत्रका पर्यटन व्यवसायी तथा संस्थाहरूको साझा धारणा निर्माण गरी विधेयकमा आवश्यक सुधारका लागि सरकारसँग संवाद गर्ने तयारी गरेको छ। त्यससँगै महासंघ गठनका लागि आवश्यक कानुनी तथा संस्थागत प्रक्रियासमेत अघि बढाइनेछ। नेपालको पर्यटन क्षेत्र प्राकृतिक तथा सांस्कृतिक सम्पदामा आधारित भए पनि पूर्वाधार, हवाई सम्पर्क, नीतिगत समन्वय, पर्यटन प्रवर्द्धन र व्यवसायिक वातावरणसँग सम्बन्धित चुनौती कायमै छन्। यस्तो अवस्थामा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी एउटै संस्थागत संरचनामा संगठित हुने प्रयासले निजी क्षेत्रको आवाजलाई थप समन्वित बनाउने अपेक्षा गरिएको छ।
तर नयाँ महासंघको प्रभावकारिता भने त्यसले कति संस्थालाई समेट्छ भन्नेभन्दा पनि साझा समस्या समाधानका लागि कस्तो भूमिका खेल्छ भन्नेमा निर्भर हुनेछ। व्यवसायीहरूले भने प्रकृतिमैत्री पर्यटन, पर्यटनमैत्री विकास र नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई आगामी पर्यटन नीतिको आधार बनाउनुपर्नेमा जोड दिएका छन्।




