
जनकपुरधाम । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद हुनेहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको बताएका छन् ।
जनकपुरधाम–२५, लोहनामा नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्व सदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्ध कदको शालिक अनावरण गर्दै उनले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि काँग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्नका लागि खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका स्वर्गीय ठाकुर जस्ता नेताका कारण नै मुलुकमा संघीय लोकतान्त्रिक अभ्यासमा हामीहरू रहेको बताए ।
उनले मुलुकमा विभिन्न परिवर्तनको लागि सहिद भएका र जेलनेल सहितको यातना पाएकाहरूको कारणले धेरै परिवर्तनहरू भएको बताउँदै जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए ।

नेपाली काँग्रेसका पूर्व उपसभापति एवं नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिएका स्वर्गीय नेता अरविन्द ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए ।
नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माणका साथै जनतालाई धेरै अधिकार दिएको बताउँदै अहिले पनि देश तथा मधेशको हित चाहने पार्टी काँग्रेस नै भएको दाबी गरे ।
नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधान सभाका सदस्य रश्मि ठाकुर, नेपाली काँग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव, प्रतिमा निर्माणमा बजेट दिए पूर्व मन्त्री रामसरोज यादव, नेपाली काँग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साहले पनि बोलेका थिए ।
करिब २५ लाखको लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमा सहितको संरचना निर्माण भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति देउवाले स्वर्गीय ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।