राजनीति

सरकारका रणनीतिक योजना अगाडि बढाउन सभापति देउवाकाे जाेड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताएका छन् । सभापति देउवाको प्रमुख आतिथ्यमा बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा उनले डडेलधुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हुन् ।

पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने बताए ।

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उनले नेता कार्यकर्तालाई निर्देशन दिएको कांग्रेस जिल्ला कार्य समिति डडेलधुराका सचिव हेमराज चटौतले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको बताएका थिए ।

बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको उनले बताए । कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने बताए ।

कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा पुगेका देउवा विभिन्न देवीदेवताको पूजाआजा दर्शनसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । यहाँका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले जनताका सहजताका लागि विभिन्न माग राख्दै योजनाहरू निर्माण गर्न मागपत्र बुझाएका थिए ।

बिहीबार कांग्रेस जिल्ला कार्यसमितिको बैठकपछि सभापति देउवा अजयमेरु गाउँपालिका –१ पुइलेक र २ को चमडामा पुगी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार शुक्रबार सभापति देउवा जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *